झापा हिँडेकी रचना रिमाल जनकपुर पुगेपछि…

काठमाडौं । गायिका रचना रिमालले हवाई यात्रामा सास्ती खेप्नुपरेको छ । उनले पछिल्लो दुई दिनदेखि सिर्जना भएको खराब मौसमका कारण निकै सास्ती खेप्नु परेको हो ।

गायिका रिमाल शनिबार गृहजिल्ला झापा जाने तयारीमा थिइन् । झापाका लागि उडेको विमान मौसमकै कारण अवतरण हुन नसकेपछि बीचबाटै काठमाडौं फर्किएको थियो ।

आइतबार दोस्रो प्रयास गरेकी उनी यस पटक पनि झापा पुग्न सकिनन् । झापाको मौसम प्रतिकूल भएपछि उनी चढेको जहाजलाई जनकपुरमा ‘डाइभर्ट’ गरी अवतरण गराइएको छ ।

जनकपुर विमानस्थलको टर्मिनलमा झरी नियाल्दै गरेकी रचनाले आफ्नो पीडा साटेकी छिन् ।

सामाजिक सञ्जालमा एक भिडियो (रिल) सार्वजनिक गर्दै रचनाले आफ्नो अवस्थाबारे जानकारी दिएकी छिन् । भिडियोमा उनी जनकपुर विमानस्थलको टर्मिनलबाट बाहिरिँदै गरेको देखिन्छिन् । बाहिर मुसलधारे पानी परिरहेको छ र आकाश कालो बादलले ढाकिएको छ ।

उनले भिडियोमा भनेकी छिन्, ‘हिजो पनि यस्तै भयो, उडेर काठमाडौं नै फर्कियो । आज फेरि झापा जान हिँडेको, मौसमका कारण जनकपुरमा ल्यान्ड भयो । यहाँ पनि ठूलो पानी परिरहेको छ ।’

उनले अब हवाई मार्गको विकल्प छोडेर जनकपुरबाट गाडीमार्फत नै झापा जाने जानकारी दिएकी छिन् । भिडियोको अन्तमा उनले भनेकी छिन्, ‘अब चाहिँ म यहाँबाट गाडी चढेरै झापा जान लागेको ।’

पछिल्लो केही दिनदेखि देशभर भइरहेको हावाहुरीसँगै परेको असिनापानीका कारण नेपालको आन्तरिक हवाई उडानहरू निकै प्रभावित भइरहेका छन् । यस्तै, वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न स्थानका सडक मार्ग समेत अवरुद्ध भएका छन् ।