‘एक मुठ्ठी बादल’को ट्रेलरमा परिवारभित्रको कलह, पितृसत्तात्मक सोच र अस्तित्वको लडाइँ

काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ ।

अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको चलचित्रको निर्माण पक्षले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलर आमा र छोरीहरू बीचको सम्बन्ध, दाइजो र सम्पत्तिको विवाद र परम्पराको नाममा महिलामाथि हुने मानसिक र सामाजिक दमनको वरिपरि घुमेको छ ।

यो एउटा यस्तो बादलको कथा हो, जो हेर्दा सुन्दर देखिन्छ तर भित्रभित्रै आँधी र गर्जन लुकाएर बसेको छ भन्ने विषय चलचित्रको ट्रेलरले देखाउन खोजेको छ ।

सार्वजनिक ट्रेलरको सुरुदेखि अन्त्यसम्म एउटा घरमा विवाहको तयारी भइरहेको देखिन्छ । तर, यो कुनै सामान्य र खुसीयालीले भरिएको विवाह होइन । दुलही (आँचल शर्मा) को अनुहारमा खुसी छैन । उनमा चरम मानसिक तनाव र त्रास देखिन्छ । उनले सोध्ने प्रश्नहरू- ‘मेरो हात भाँचियो भने के हुन्छ? मलाई हर्ट अट्याक आयो भने के हुन्छ?’ ले उनी यो विवाहबाट उम्कन चाहन्छिन् वा विवाहप्रति उनको ठूलो वितृष्णा छ भन्ने प्रस्ट पार्छ ।

सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरले ‘दाइजो’, ‘सम्पत्ति’ र ‘पारिवारिक इज्जत’ का नाममा कसरी महिलाहरूका इच्छा र भावनाहरूलाई कुल्चिइन्छ भन्ने कुरालाई संकेत गरेको छ ।

ट्रेलरमा एउटा संवाद छ-‘पोथी बास्ने घरमा कहिल्यै पनि लच्छिन हुँदैन, पुर्खाहरूले सही भन्थे’ यो संवादले नेपाली समाजमा अझै पनि गडेर रहेको पितृसत्तात्मक सोच र महिलाको नेतृत्वलाई हेर्ने संकुचित दृष्टिकोणलाई चित्रण गर्छ । घरभित्र महिलाहरूको भूमिका, उनीहरूको निर्णय क्षमता र अस्तित्वको लडाइँलाई चलचित्रले मूल मुद्दा बनाएको देखिन्छ ।

परिवारको ‘इज्जत’ जोगाउनका लागि घरभित्र हुने हिंसा र अन्यायलाई कसरी गुपचुप राखिन्छ भन्ने पाटोलाई कथाले समेटेको बुझिन्छ ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आँचल शर्मा, उषा रजक र निशा शर्माका साथै भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट लगायतको अभिनय छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही चलचित्रमार्फत अभिनयमा फर्किएकी हुन् ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन , अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ ।

चलचित्रमा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।