‘राम नाम सत्य’को ३ करोड माथिको कलेक्सन, तुलसी घिमिरेको ‘पहाड’को व्यापार कति ?

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘राम नाम सत्य’ले बक्स अफिसमा सुखद नतिजा निकालेको छ ।

यता, वैशाख १ गतेबाट प्रदर्शनमा आएको वरिष्ठ निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’को व्यापार भने निकै कमजोर देखिएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार गत चैत २७ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ले गत शनिबारसम्म कुल ३ करोड ३८ लाख ५८ हजार ८ सय २१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यस चलचित्रलाई हालसम्म १ लाख १७ हजार ५ सय ६४ जना दर्शकले हलमा पुगेर हेरिसकेका छन् । करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण भएको भनिएको छ ।

चलचित्रको निर्माण टिमले यसको सिक्वेल ‘राम नाम सत्य–२’ निर्माण गर्ने घोषणा समेत गरिसकेको छ । माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुनिल थापा, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, र दिव्या रायमाझीको मुख्य अभिनय रहेको छ ।

अर्कोतर्फ, नेपाली चलचित्र क्षेत्रका लेजेन्डरी निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’ ले भने बक्स अफिसमा सोचे जस्तो जादु देखाउन सकेन ।

‘राम नाम सत्य’ भन्दा चार दिन पछि हलमा आएको भए तापनि ‘पहाड’ को व्यापारिक ग्राफ निकै सुस्त देखिएको छ । लामो समयपछि निर्देशक घिमिरेले सामाजिक कथावस्तुमा आधारित चलचित्रमार्फत दर्शकलाई हलसम्म तान्ने प्रयास गरे पनि बक्स अफिसमा यसको प्रभाव न्यून देखिएको छ ।

वैशाख १ गते (नयाँ वर्ष) को अवसर पारेर रिलिज भएको यस चलचित्रले शनिबारसम्म जम्मा ६१ लाख ७७ हजार २ सय ६२ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ ।

यस चलचित्रलाई शनिबारसम्म १९ हजार ५ सय ३९ जना दर्शकले हेरेका छन् ।

हाल यी दुवै चलचित्र देशका विभिन्न हलहरूमा प्रदर्शनरत छन् ।