दुई दशकपछि फेरि फर्कियो ‘गौंथली’, साउन १ मा प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘गौथली’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले सिनेमाको एक पोष्टर सार्वजनिक गर्दै आगामी साउन १ गते (जुलाई १७) बाट प्रदर्शनमा आउने जानकारी दिएको हो ।
‘गौँथली’ नामबाट डा. भोला रिजालको कथामा झन्डै दुई दशकअघि निर्माण पनि चलचित्र बनेको थियो । वसन्त श्रेष्ठले निर्देशन गरेको तत्कालीन ‘गौंथली’ ले व्यावसायिक सफलता मात्र पाएन, यो नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) को रूपमा समेत इतिहासमा दर्ता भयो । त्यस समयमा चलचित्र ‘गौथली’ले प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो ।
अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै डा. रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौथली’ बनाएका हुन् ।
यस नयाँ चलचित्र ‘गौंथली’मा नायक अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा देखिनेछन् । उनीहरुका साथमा चलचित्रमा नेपाली कला क्षेत्रका शिखर व्यक्तित्व मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
निर्देशक कपिलले यसअघि अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘ह्यारीकी प्यारी’ बनाएका थिए ।
डा. भोला रिजालकै कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
चलचित्रको ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पार्श्व संगीत एलिस कार्कीको छ ।
चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।




