विनयराजको निर्देशनमा ‘अक्षरा’ बन्ने, कलाकार गोप्य
काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अक्षरा’को निर्माण घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माणबारे जानकारी गराएको हो ।
लामो समयदेखि दर्जनौँ नेपाली चलचित्रमा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका बिनयराज पौडेलले यसै सिनेमामार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
सार्वजनिक गरिएको थिम पोस्टरमा एक महिलाले साइड ब्याक झोला बोकेर बिहानीको मिर्मिरेमा कतै जाँदै गरेको दृश्य देखाइएको छ । पोस्टरको रङ्ग संयोजन र दृश्यले चलचित्रको मुड गम्भीर, रहस्यमय र यथार्थपरक रहेको संकेत गर्दछ ।
एआई जेनेरेटेड पोस्टरको प्रारम्भिक दृश्यका आधारमा चलचित्र ‘अक्षरा’ एउटा सशक्त नारीप्रधान कथामा आधारित हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
क्षितिज बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन आगामी वैशाख २७ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको घोषणा र प्राविधिक टिम सार्वजनिक गरिए पनि अभिनय गर्ने कलाकारहरूको नाम भने हालसम्म गोप्य राखिएको छ ।
राजन दुलाल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा उग्रसेन ढुंगाना र सुरज थापा निर्माता रहेका छन् । सिनेमाको कथा स्वयं निर्माता उग्रसेन ढुंगानाले नै लेखेका हुन् भने यसको पटकथा अभिमन्यु निरवीले तयार पारेका छन् ।




