जय नेपाल सिनेमा हल पुनः सञ्चालनको तयारीमा, बोर्डले दियो अनुमतिपत्र

काठमाडौं । काठमाडौंको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आउने तयारीमा अघि बढेको छ । लामो समय बन्द रहेको उक्त हलले आज चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो ।

विसं. २०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको जय नेपाल सिनेमा हल काठमाडौंको सिनेमा संस्कृति र दर्शक स्मृतिसँग गहिरो रूपमा जोडिएको नाम हो । दरबारमार्ग क्षेत्रसँग जोडिएको यस हलले दशकौँसम्म नेपाली, हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन गर्दै राजधानीको चलचित्र प्रदर्शन इतिहासमा आफ्नै पहिचान बनाएको थियो ।

कोभिड–१९ महामारीका कारण उत्पन्न परिस्थितिपछि विसं. २०७८ असोज ४ गतेदेखि हल बन्द अवस्थामा रहेको थियो । आज चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसिले सञ्चालक मध्यका एक गोपालकाजी कायस्थलाई सञ्चालन अनुमतिपत्र प्रदान गरेका छन् । लामो समयपछि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन अनुमतिपत्र प्राप्त भएसँगै जय नेपाल हलको पुनः सञ्चालनको बाटो खुलेको छ ।

पुरानो सिनेमा हल आधुनिक व्यवस्थापन र आवश्यक मापदण्डसहित पुनः सञ्चालनमा आउनु नेपाली चलचित्र प्रदर्शन क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । यसले काठमाडौंको पुरानो सिनेमा संस्कृतिलाई पुनर्जीवित गर्न, दर्शकलाई थप विकल्प उपलब्ध गराउन र चलचित्र प्रदर्शन बजारलाई थप सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चलचित्र विकास बोर्डले प्रचलित मापदण्ड र प्रक्रियाअनुसार चलचित्रघर सञ्चालन अनुमतिपत्र प्रदान गर्दै आएको छ ।