काठमाडौं महानगर र चलचित्र विकास बोर्डबीच फोटोग्राफी/भिडियो पत्रकारिता तालिमका लागि सम्झौता

काठमाडौं । काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता भएको छ ।

महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो । सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम प्रदान गरिनेछ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तालिम चलचित्र विकास बोर्डको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन हुनेछ ।

बोर्डले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि सूचना समेत प्रकाशित गरेको छ । इच्छुक सहभागीहरूले बोर्डबाट उपलब्ध गराइएको आवेदन फारम भरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन् । पहिलो दर्ता हुने निवेदनहरूलाई प्राथमिकता दिँदै नियमअनुसार छनोट गरिने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, यस तालिमले युवाहरूमा व्यावसायिक फोटोग्राफी, भिडियो पत्रकारिता तथा दृश्य–श्रव्य सामग्री निर्माणसम्बन्धी आधारभूत तथा व्यवहारिक सीप विकास गर्नेछ । साथै, चलचित्र, सञ्चार र सिर्जनात्मक उद्योगसँग जोडिएका नयाँ अवसरहरूमा युवाहरूको पहुँच बढाउने अपेक्षा गरिएको छ ।

चलचित्र विकास बोर्डले तालिमले काठमाडौंमा चलचित्र, मिडिया र सिर्जनात्मक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।