‘काजी’को गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा कथासार बुझाउने गीत सार्वजनिक गरेको हो ।

चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गांगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ । गंगाले यही सिनेमाबाट नेपाली सिनेमाको पार्श्व गायनमा डेव्यु गरेकी छन् ।

पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नव विवाहित जोडीको भूमिकामा देखिएका छन् । सिनेमाकै कथा भाव अनुसार नै गीतको भिडियो निर्माण छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा विपीन र केकीको प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । केकी र विपीनसहित सिनेमामा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय गरेका छन् ।

निर्माण टिमका अनुसार सिनेमा भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरको छ । आगामी जेठ ८ गतबाट देशभर प्रदर्शन हुनेछ । प्रदीप भारद्धाजको कथा लेखन रहेको सिनेमालाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् ।