कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा अवार्ड समारोहका लागि आवेदन खुला
काठमाडौं । चलचित्र र पर्यटनलाई एकापसमा जोड्दै अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुँदै आएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ ।
आयोजक समितिले विश्वभरका र विशेषगरी नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट सिर्जनाहरूलाई सम्मान गर्न विभिन्न विधामा आधिकारिक रूपमा चलचित्र दर्ताको आह्वान गरेको हो ।
आयोजकका अनुसार यस महोत्सवको पहिलो चरणका कार्यक्रमहरू हालै मात्र भव्यताका साथ सम्पन्न भएका छन् । कर्णाली प्रदेशको सुर्खेत र सल्यानस्थित कुपिण्डे दहमा आयोजना भएको उक्त पहिलो चरणको कार्यक्रममा विभिन्न विधाका प्रस्तुतिसहित १२ सयभन्दा बढीको सहभागिता रहेको थियो । पहिलो चरणको सफलतासँगै दोस्रो चरणमा हुने अवार्ड समारोहका लागि चलचित्रकर्मीहरूबाट आवेदन माग गरिएको हो ।
महोत्सवमा प्रतिस्पर्धा गर्न इच्छुक निर्माण पक्षले आगामी १५ मे २०२६ सम्ममा आफ्ना चलचित्र दर्ता गराइसक्नुपर्नेछ । आयोजकले तोकेको योग्यता र सर्तअनुसार अवार्डका लागि आवेदन दिने चलचित्रहरू २०८२ साल वैशाख १ गतेदेखि २०८२ चैत्र मसान्तभित्र सार्वजनिक रूपमा प्रदर्शन भइसकेको हुनुपर्नेछ । उक्त तोकिएको समयसीमाभन्दा अगाडि वा पछाडि प्रदर्शन भएका चलचित्रहरूले यस संस्करणमा प्रतिस्पर्धा गर्न नपाउने आयोजकले स्पष्ट पारेको छ ।
यस महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी कुल ८ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट सर्ट फिल्म विधा रहेका छन्। यसैगरी, राष्ट्रिय (नेपाली)तर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट उदीयमान मेकर (फिल्ममेकर) विधामा अवार्ड प्रदान गरिनेछ ।
आवेदन दिन चाहने चलचित्रकर्मीले चलचित्रको विवरण र आवश्यक कागजातहरू महोत्सवको आधिकारिक इमेलमा पठाउन सक्नेछन् । विस्तृत विवरणका लागि आयोजकले महोत्सवको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ ।
महोत्सवका निर्देशक चक्र बहादुर चन्दले विश्वभरका उत्कृष्ट सिनेमा र कथाहरूलाई एउटै मञ्चमा ल्याउनु नै यस महोत्सवको मुख्य लक्ष्य रहेको बताएका छन् । यस वर्ष अझै उत्कृष्ट र सिर्जनशील चलचित्रहरूको सहभागिता रहनेमा उनले विश्वास व्यक्त गरेका छन् ।




