नेपाली सिने उद्योगमा अर्को स्टारको जन्म अथवा ‘स्टाइलिश स्टार’
काठमाडौं । सलिमान बनियाँले नेपाली सिनेमा उद्योगमा कमब्याकको प्रयास गर्दा दर्शकले एउटा सरप्राइज पाएका छन् । त्यो के होला ? एक्सन हिरोको अवतार ? होइन । लभर ब्वाइका रुपमा देख्दै आएका सलिनमान ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा एक्सन हिरोका रुपमा देखिएका छन् । तर, पनि यही नै दर्शकका लागि उनको सरप्राइज होइन ।
त्यो भए के हो त सरप्राइज ? सान्भी इन्टरेटेन्टमेन्ट उनलाई एउटा सरप्राइज दिएको छ । त्यो हो, ‘स्टाइलिश स्टार’ । अथवा सिनेमा ‘युनीभर्सटी अफ गुण्डाज्’ चलोस्/नचलोस् । यो चलचित्रमा उनको क्यारेक्टर भोलि दर्शकले मन पराउन् वा नपराउन् उनी ‘स्टाइलिश स्टार’ भइसके ।
नेपाली चलचित्र उद्योगमा कसैले दिनु पर्दैन, कुनै उपाधि आफैँ लिन हतार छ । आफैँले लेखेको चलचित्र, आफ्नै चलचित्र, सके आफ्नै ब्यानर, आफ्नै साथीको चलचित्र । अनि त्यही चलचित्रमा काम गरेकै भरमा त्यो पनि दर्शकले मानुन्/नमानुन्, आफैँ त्यसै स्टार भनाउने हतारो छ । यही प्रवृत्ति फेरि एकपटक देखिएको छ ।
कोही मेघा स्टार, कोही एक्सन स्टार, कोही एक्सन किङ, कोही रियल हिरो, कोही नेचुरल हिरो । नेपाली चलचित्र उद्योग छ र विभिन्न उपाधि र स्टारहरूको जन्म भइरहेको छ । यो पनि हुन्थेन भने कुन सिनेमा उद्योगबाट कपि गर्नु पर्ने थियो, यस्ता उपाधिहरू ?
जे होस्, साँच्चै सलिनमान ‘युनीभर्सटी अफ गुण्डाज्’बाट ‘स्टाइलिश स्टार’ कहलाउन सकुन्, हाम्रो शुभकामना । दर्शकले दिने उपाधि नै सदावहार र दिगो हुन्छ । कसैले रहर गरेर दिएको उपाधि त आत्मरति मात्रै हो । त्यसैले यो चलचित्र हेरेर साँच्चै दर्शकले सलिनमानलाई ‘स्टाइलिश स्टार’ मानुन्, त्यही अनुसारको काम र कष्ट्युम यो सिनेमामा देखियोस् । त्यसपछि कुनै ब्यानरले यो लोभ गर्नै पर्दैन, दर्शक आफैँले भन्नेछन्, ‘वाह्उ सलिनमान, साँच्चै स्टाइलिश स्टार !’
दर्शकले नै उपाधि दिएपछि बल्ल त्यो अमिट हुन्छ, कसैले मेटाउन नसक्ने ढुंगाको अक्षर हुनेछ । नत्र त आज छ, भोलि छैन । उही … सामान जस्तै ।
सलिनमानले आफ्नो जन्म दिनको अवसर पारेर आफू अभिनीत फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर मंगलबार सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको यो सिनेमालाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन् ।
ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको एक्सन देख्न सकिन्छ ।
सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यो सिनेमाबाट सलिनमानले कमब्याकको प्रयास गरेका छन् । यो चलचित्रमा सलोन बस्नेत पनि सलिनमानजस्तै उस्तै एक्सनमा उत्रिएका छन् ।
सलिनमान बनियाँ आफैँले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन् । यस फिल्मको मुख्य भूमिकामा सलिमान, सलोन रहेको छन् । निर्माण पक्षले अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन ।




