यसरी भएको थियो चलचित्र ‘मालती मंगले’को सेन्सर
काठमाडौं । शनिबार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा ठूलो अन्योल छाएको थियो ।
यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ । २ घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ । प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए । यो चलचित्र यही वैशाख २५ गते शुक्रवार रिलिज हुँदैछ ।
सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो ।
यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो । जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू भने पदेन सदस्य रहने व्यवस्था भएको हुनाले उनीहरूको उपस्थिति भने कायमै थियो र सोही अनुरूप चलचित्रको सेन्सर कार्य अघि बढाइएको हो ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सहनिर्माताका रूपमा रहेका छन् ।




