चलचित्र ‘आँखा’लाई अमेरिकामा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’
काठमाडौं । जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोज : आँखा’ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट (ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ ।
हालै आयोजक कमिटीले इमेलमार्फत चलचित्रले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो । यस चलचित्रले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ र ‘निर्देशन क्राफ्ट’ विधामा ‘गोल्ड अवार्ड’ जितेको छ ।
विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना भएको हो ।
सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ ।
यसअघि यस चलचित्रले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेर इतिहास रचिसकेको छ ।
सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, संघर्ष र यथार्थलाई चित्रण गरेको यस चलचित्रमा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ ।




