सकारात्मक‘माउथ पब्लिसिटी’ले ‘मालती मंगले’को व्यापारमा सहयोग
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिबार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो ।
चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप बढेको छ।
दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर चलचित्रको टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो । निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकहरूको हुटिङ गरेका थिए ।
सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई नेपालीपन बोकेको अब्बल सिनेमा भनेका थिए ।
अभिनेत्री वर्षा राउतसँगै विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ । दर्शकबाट प्राप्त यो माया र बलियो ‘वर्ड अफ माउथ’को सहयोगमा प्रकु पाण्डेय निर्देशित ‘मालती मंगले’को बक्सअफिस यात्रा थप रफ्तारमा अगाडि बढ्ने देखिएको निर्माणपक्षले दाबी गरेको छ ।




