यर्थाथ र सम्भावनाबीच नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार

सुरक्षा भट्टराई

काठमाडौं । नेपाली चलचित्रको बजार त्यति धेरै ठूलो छैन । त्यसैले लगानी त्यही अनुसार गर्नुपर्नेमा जोड दिने गरिएको छ । जति ठूलो लगानी, रिस्क पनि त्यति नै धेरै हुने भएकाले रिस्क कम गर्न लगानी कम गर्नु पर्नेमा धेरैको जोड रहने गरेको छ ।

नेपालको भूगोल र जनसंख्या नै न्यून रहेकाले यसको प्रभाव सिनेमाको बजारमा पनि प्रत्यक्ष रूपमा परिरहेको छ । जनसंख्या नै कम भएकाले चलचित्र हेर्ने दर्शकको संख्या पनि कम हुनु स्वभाविक हो ।

तर, विस्तारै नेपाली चलचित्रको बजार पनि ठूलो हुने क्रममा छ । घरेलु बजार नै ठूलो हुँदैछ । गत वर्ष ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै ४६ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसभन्दा अगाडि चलचित्र ‘कबड्डी : फाइनल म्याच’ले २६ करोड रुपैयाँ कलेक्सन गरेको रेकर्ड थियो । यो रेकर्ड तोड्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै ४६ करोड ८० लाख कलेक्सन गरेको थियो । यो चलचित्रले नेपालमा पनि राम्रो चलचित्र बने ठूलो परिमाणमा कलेक्सन गर्ने प्रस्ट पारेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन, नेपाली मौलिक विषयमा राम्रो चलचित्र बने विदेशमा पनि राम्रो चल्ने पुष्टि गरेको थियो । किन भने यो चलचित्रको नेपालभित्र र बाहिर गरेर ७५ करोडभन्दा माथि कलेक्सन गरेको थियो । करिब २७ करोडको हराहारीमा नेपाल बाहिर नै यो चलचित्रले कलेक्सन गरेको थियो ।

“यो चलचित्र अझै हामीले भारत, कोरियालगायत थुप्रै देशमा रिलिज गरेनौँ, यदि हामीले यो चलचित्र भारत, कोरिया र एसियाका अरु देशमा रिलिज गरेको भए सहजै एक अर्ब रुपैयाँ कलेक्सन हुनेथियो,” पूर्ण बहादुरको सारङ्गीका निर्माता विनोद पौडेल भन्छन्, “तर, हामीले प्राविधिक कारणले यो सिनेमा बाँकी देशमा माग हुँदाहुँदै पनि लगाएनौँ ।”

उनको यो भनाइले विदेशबाट पनि नेपाली चलचित्रले राम्रै कमाइ गर्न सक्ने देखाउँछ । तर, यसका लागि चलचित्र नै बलियो भने हुनै पर्छ । विदेशमा नेपाली चलचित्रले राम्रै कलेक्सन गरिरहेका छन् भनेर भनिरहँदा सबै चलचित्रले भने ठूलो परिमाणमा कलेक्सन गरिरहेका छैनन् । सीमित चलचित्रले मात्रै कमाइ गरिरहेका छन् ।

जुन चलचित्रले नेपालमा राम्रो कलेक्सन गर्छन् र राम्रो भनेर समीक्षा आउँछ, ती चलचित्रले मात्रै आकर्षक कलेक्सन गरिरहेका छन् । नेपालमै नचलेका र राम्रो समीक्षा नआएका सिनेमा भने अधिकांश विदेशमा जाँदैनन् र गए पनि राम्रो चल्दैनन् । विदेशको राइट्स खरिद् गरिएका सिनेमाहरूले आफ्नो लगानी पनि त्यहाँ चलेर उठाउन सकिरहेका छैनन् ।

विदेशमा राम्रै कमाई गरिरहेका सिनेमा हेर्ने चाहिँ त्यहाँ रहेका नेपाली दर्शकले नै हो । अथवा नेपाली डायस्पोरामा मात्रै नेपाली चलचित्र प्रदर्शन भइरहेका छन्, नेपालबाट त्यहाँ गएर बसिरहेका दर्शकले मात्रै हेरिरहेका छन् ।

विदेशमा केही नेपाली चलचित्र चलिरहेका छन् भनेर भन्नुको अर्थ विदेशीले नेपाली चलचित्र हेरिरहेका छन् भन्ने होइन । त्यहाँ बसेका नेपालीले हेरिरहेका छन् । अझै पनि नेपाली चलचित्र विदेशी दर्शकले हेर्न थालेका छैनन् । यो अहिलेसम्मको सत्य हो । त्यसैले अहिलेसम्म हामीले नेपाली सिनेमाको बजार विस्तार गर्न सकेका छैनौँ ।

नेपाली चलचित्रको बजार विस्तार त्यति बेला मात्रै भएको मानिनेछ, जति बेला साँच्चै विदेशीले नेपाली चलचित्र हेर्नेछन् । यसका लागि नेपाली चलचित्र कथावस्तु, मेकिङ, अभिनयले स्तरीय बन्नुपर्नेछ ।

तर, केही राम्रो भने अवश्य भएको छ । पछिल्लो समय हलिउड र बलिउड सिनेमा रिलिज हुने हलमा नेपाली चलचित्र रिलिज हुन थालेका छन् । “केही सकारात्मक पक्ष पनि छन् । अहिले हाम्रा नेपाली चलचित्र बक्सअफिसमै रिलिज हुन थालेका छन्,” निर्देशक मिलन चाम्स भन्छन्, “केही वर्ष अगाडिसम्म नेपाली चलचित्र कम्युनिटी हलमा नेपालीलाई बोलाएर हेराइन्थ्यो । अहिले बक्सअफिसमा टिकट काटेर हेर्न पाइन्छ ।”

निर्देशक चाम्स यसलाई सकारात्मक भन्दै बजार विस्तारको दोस्रो कदम मान्छन् । “पहिलो, नेपाली सिनेमा लगेर हामीले नेपालीलाई मात्रै भए पनि देखाउन थाल्यौँ,” मिलन भन्छन्, “दोस्रो, हाम्रा नेपाली चलचित्र बक्सअफिसमै रिलिज हुन थाले यसलाई हामीले सकारात्मक प्रभावका रूपमा लिनुपर्छ ।”

बक्सअफिसमा नियमित रूपमा नेपाली चलचित्र रिलिज हुन थालेपछि र नेपाली मात्रै भए पनि दर्शक जान थालेपछि विस्तारै विदेशीले पनि नेपाली सिनेमा हेर्न थाल्ने उनको विश्वास छ । त्यसैले अब नेपाली चलचित्रको बजार सही अर्थमा विस्तार गर्न युनिभर्सल विषयमा स्तरीय मेकिङ गर्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो केही वर्षयता नेपाली चलचित्र विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, जापान, दक्षिण कोरिया, मध्यपूर्व र युरोपका विभिन्न देशमा बक्सअफिसमै प्रदर्शन हुन थालेका छन् । यसले नेपाली निर्मातालाई केही हदसम्म भए पनि आफ्नो लगानी सुरक्षित गर्न सहयोग पुग्न थालेको छ ।

नेपाली सिनेमालाई विदेशी बजारमा पुर्याउन निजी क्षेत्रलाई सरकारले पनि सहयोग गरेको खण्डमा थप सहज हुनेछ । यसका लागि राज्यको नजरमा सिनेमा र यसको महत्व पर्नुपर्नेछ ।