४३ वर्षपछि ‘जीवनरेखा’को विशेष प्रदर्शन
काठमाडौं । चलचित्र ‘जीवनरेखा’को ४३ वर्षपछि विशेष प्रदर्शन भएको छ ।
शिव श्रेष्ठ फाउन्डेसनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’, जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरिएको छ । यसका लागि डिजिटल सिनेमा नेपालको पनि सहयोग रहेको थियो ।
नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसँग मिलेर गरेको छ ।
यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ भने ऐतिहासिक, अभिलेखीय महत्वका तथा साहित्यिक कृतिमा आधारित थप १० चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको छ ।
बोर्डका अनुसार यो अभियान पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्याउने प्रयास हो । पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा छ ।
कार्यक्रममा विशिष्ट कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।
जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के,प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली, हरिवंश आचार्य आदिको अभिनय रहेको छ ।


