प्राइभेट स्क्रिनिङमा कस्तो प्रतिक्रिया पायो ‘एक मुठ्ठी बादल’ले ?

काठमाडौं । आगामी शुक्रबार अर्थात् जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को प्राइभेट स्क्रिनिङ गरिएको छ । जहाँ सिनेमाका हेर्न पूर्वप्रधानमन्त्री सुशीला कार्की, कांग्रेस नेता सुनिलकुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारी लगायतका थुप्रै विशिष्ट व्याक्तिहरु पुगेका थिए ।

सिनेमा हेरेर हलबाट निस्कन्दै गर्दा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘एक मुठ्ठी बादल’ निकै मन परेको बताइन् । “म सिनेमा चाहीँ बहुत कम हेर्ने मान्छु हुँ । सिनेमा ज्यादै कम हेर्छु । अहिले हेरेँ भनेपनि पुरानो सिनेमाहरु हेर्छु । अब हाम्रो नीता जी, यो सिनेमा बनाउने मान्छे निर्माताको आमा चाहीँ एउटै कम्युनिटी न्यायधिस, उहाँहरुले निमन्त्रणा दिनुभयो । अनि त्यसपछि हुन्छ भनेर म आएँ । अब सिनेमाको मुल्याकंन भन्नु हुन्छ भने सवैले आफ्‌नो आफ्‌नो दृष्टिकोणबाट हेर्नुहुन्छ,” उनले भने ।

“मलाई यो सिनेमा आर्ट सिनेमा जस्तो लाग्छ । दोस्रो नम्बरमा यसले अहिलेको समाज देखाएको छ । तेस्रो नम्बरमा यो मध्यम वर्गिय परिवारको कथा हो । अनि मात्र मलाई लाग्छ, दुई दिन अर्थात् एक रात र भोलीपल्टको कथा हो । अझै भनौ समाजको द्धन्द्व पनि हो । मानौं बाउआमा पुरानो पुस्ता र छोराछोरी जेन्जी,” पूर्वप्रधानमन्त्री कार्कीले अगाडी भनिन्, “अहिलेको सन्तानमा पुरानो संस्कारलाई एसेप्ट गर्न अलि गाह्रो नै पर्छ । आधुनिक र पारिवारिक समाजबीचको टकरावलाई सिनेमामा हेर्न पाइन्छ ।”

“त्यसमाथि मध्यमवर्गिय परिवारमा आर्थिक हैसियत नमिलेको एउटा छोरीको त्यस्तै परिवारमा विहे भएको छ । ज्वाइँ अलि हेपिएको पनि देखिन्छ । एउटा छोरी अमेरिकाबाट पढेर आएकी छ,” उनले भनिन्, “जसको आमाबाउले आफ्‌नो सम्पत्ति बेचबाच गरेर भएपनि सन्तानको खुशीको लागि बाहिर पठाउँछन् । उसको राम्रो घर परिवारमा बिहे हुन्छ । त्यसले कसरी परिवारको असमानता देखाउँछ भन्ने सिनेमाले देखाएको छ ।”

सुनिल कुमार थापाले पनि सिनेमाले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए । रियालिटी शोका निर्देशक अमन प्रताप अधिकारीले नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट सिनेमा‘ुएक मुठ्ठी बादल’ रहेको बताए । नेपाली सिनेमाको बारेमा कसैले सोधे ‘एक मुठ्ठी बादल’ हेर्न सिफारिस गर्न आग्रह उनले गरेका थिए ।

साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।