चलचित्र प्राविधिक संघले निर्माताहरूलाई दियो यस्तो चेतावनी
काठमाडौं । चलचित्र प्राविधिक संघले प्राविधिकको रकम नौ दिनभित्र चुक्ता नगर्ने निर्माताको सिनेमाको काम ठप्प पार्ने चेतावनी दिएको छ । कतिपय सिनेमाको पारिश्रमिक महिनौँ तथा वर्षौंदेखि नदिइएको भन्दै त्यस्ता चलचित्र कम्पनी तथा निर्माताको चलचित्रको काम ठप्प पार्ने प्राविधिक संघले चेतावनी दिएको छ ।
“कतिपय निर्माताले प्राविधिकले पाउनुपर्ने न्यून पारिश्रमिक पनि महिनौँ तथा वर्षौंसम्म भुक्तानी नगरी झुलाउने गरेको गुनासो बढ्दो छ । प्राविधिकको इमानदारिता र चलचित्रप्रतिको लगावलाई कमजोरी ठान्ने प्रवृत्ति अब हामीलाई सह्य छैन,” संघले भनेको छ, “बक्यौता भुक्तानी हालसम्म विभिन्न चलचित्रमा काम गरेका प्राविधिकको बाँकी रहेको सम्पूर्ण पारिश्रमिक यो विज्ञप्ति जारी भएको मितिले ९ दिनभित्र अनिवार्य भुक्तानी गरिनुपर्नेछ ।”
नेपाली चलचित्र उद्योगलाई आजको व्यावसायिक उचाइमा पुयाउन पर्दा पछाडि बसेर अहोरात्र खट्ने प्राविधिकहरू नै सिनेमा क्षेत्रका वास्तविक मेरुदण्ड भएको भन्दै संघले भनेको छ, “भौगोलिक विकटता, सीमित स्रोतसाधन र प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिकले आफ्नो पसिना बगाएर नेपाली चलचित्रलाई विश्वमाझ पुयाउन मद्दत गरिरहेका छन् । तर, विडम्बना त्यही पसिनाको उचित मूल्यांकन र सम्मान हुन नसक्दा आज सिङ्गो प्राविधिक समुदाय मर्माहत र आक्रोशित बनेको छ ।”
पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तार भएसँगै कलाकारहरूको पारिश्रमिकमा अस्वभाविक वृद्धि भइरहेको तर, सोही चलचित्रलाई आकार दिने, कलाकारभन्दा बढी समय र श्रम खर्चिने प्राविधिकहरूको पारिश्रमिक भने दशकौंदेखि यथावत् रहनु वा न्यून हुनु न्यायसङ्गत नभएको संघको गुनासो छ ।
“एकातिर आकाशिएको महँगी र अर्कोतिर वर्षौंसम्म स्थिर रहेको पारिश्रमिकले प्राविधिकहरूलाई आधारभूत जीवनयापन गर्न समेत धौ–धौ परिरहेको छ । पारिश्रमिक पुनरावलोकन बजारको महँगी र प्राविधिकको श्रमको कदर गर्दै वैज्ञानिक ढङ्गले पारिश्रमिक वृद्धि र समयमै भुक्तानीको ग्यारेन्टी गरिनुपर्नेछ,” संघले भनेको छ, “यदि, तोकिएको समय सीमाभित्र हाम्रा न्यायोचित मागहरू पूरा नगरिएमा संघले कडा कदमहरू चाल्न बाध्य हुनेछ ।”
माग पूरा नभए बक्यौता बाँकी रहेका सम्पूर्ण चलचित्रको छायाङ्कन र प्राविधिक कार्य तत्काल ठप्प पारिनेछ संघको चेतावनी छ । “कालोसूची र सार्वजनिक बहिष्कार पारिश्रमिक नदिने र प्राविधिकलाई मानसिक तनाव दिने निर्माताको विवरण सार्वजनिक गरी उद्योगमा ब्ल्याकलिस्ट गरिनेछ र कानुनी उपचारको लागि श्रम अदालतको ढोका ढकढकाउन बाध्य हुने छौँ,” संघले भनेको छ, “श्रमको सम्मान नभएमा र प्राविधिकहरुको पारिश्रमिक पाउन बाँकी चलचित्रकर्मीहरुसँग र तत्काल छायाँकनमा जान तयारी रहेका चलचित्रको छायाँकन ठप्प गरी हामी आफ्ना प्राविधिक उपकरणहरू बिसाएर सडकमा उत्रिन बाध्य हुनेछौँ ।”
चलचित्र प्राविधिकको मौनतालाई कमजोरी नठान्न पनि संघको चेतावनी छ । “पर्दामा देखिने चमकधमकका पछाडि रित्तो पेट र आँसु लुकेको छ भने त्यो चलचित्रले उद्योगको हित गर्न सक्दैन,” संघले अगाडि थपेको छ, “हामी केवल आफ्नो श्रमको उचित मूल्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको माग गरिरहेका छौं ।”




