‘पार्वती’को पहिलो झलक सार्वजनिक
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
यी पोस्टरहरूले नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा उभ्याएको छ । जसमध्ये एक पोस्टरमा नीता ढुंगाना स्कुले छात्राको पोसाकमा देखिन्छिन् । जहाँ उनलाई छोटो कपाल घाँटीमा कालो धागो र नीलो फ्रक (पिनाफोर)मा उनी एक सामान्य विद्यार्थीभन्दा केही फरक देखिन्छिन् ।
नीताले यहाँ ‘डी–ग्लाम’ लुक्स अपनाएकी छिन् । यसले उनको पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ । यसले पार्वती समाजले सोचेजस्तो पात्र नभएर आफ्नै संसारमा रमाउने पात्र भएको दर्शाउँछ ।
यस्तै अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन् । उमेरले सानो भए पनि अशोकको पात्रले नीताको पात्रलाई बोक्नुले चलचित्रमा अशोकको भूमिका एक संरक्षक वा अटुट सहाराको रूपमा रहेको बुझिन्छ । दुवैको अनुहारमा झल्किने उन्मुक्त हाँसोले उनीहरूबीचको सम्बन्धमा कुनै स्वार्थ नभएको र यो एक शुद्ध भावनात्मक कथा भएको पुष्टि गर्छ ।
चलचित्र २०८३ सालको रक्षाबन्धन भदौ १२ मा प्रदर्शन हुने छ । पोस्टरमा दिदी–भाइ जस्तो देखिने सम्बन्धलाई चित्रण गरिनु र रिलिजका लागि रक्षाबन्धन रोजिनुले यो चलचित्र दिदी–भाइको भावनात्मक सम्बन्ध र सामाजिक दायित्वमा केन्द्रित हुने देखिन्छ ।
कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैँले सम्हाल्नुले उनले यो चलचित्रलाई एउटा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा लिएको बुझिन्छ ।
यस चलचित्रमा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । सुदीप बरालको डिओपी रहेको यस चलचित्रको संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।




