जापानी नायिका मीनासँग जोडी बाँध्दै सलिनमान

काठमाडौं । २०८० सालको माघमा घोषणा गरिएको चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ मार्फत अभिनेता सलिनमान बनियाँ लामो अन्तरालपछि पुनः रजतपटमा फर्किने तयारीमा छन् ।

यो चलचित्रमा सलिनमानको जोडी को हुनेछिन् भन्ने कौतुहलतालाई निर्माण पक्षले मेटाएको छ ।

सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानले जापानी सुन्दरीसँग स्क्रिन सेयर गर्ने भएका छन् ।

चलचित्रको निर्माण टिमका अनुसार ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडीको रूपमा जापानी नायिका मीना यसोदा अनुबन्धित भएकी हुन् ।

मीनाको पारिवारिक पृष्ठभूमि नेपाल र जापान दुवैसँग जोडिएको छ । उनका बुवा नेपाली र आमा जापानी हुन् । हाल जापानमै बसोबास गर्दै आएकी मीनालाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीका रूपमा पक्का गरिसकेको छ ।

यद्यपि, निर्माण पक्षले उनको भूमिका र थप विवरणलाई भने अहिले ‘सरप्राइज’ को रूपमा गोप्य राखेको छ ।

यो चलचित्र अभिनेता सलिनमानका लागि अझ विशेष छ, किनकि यसको कथा उनी स्वयंले लेखेका हुन् ।

यो चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद पस्किने निर्माण टिमको भनाइ छ । केही समयअघि सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्ट लुक’ ले पनि यसको मेकिङ स्तरीय र विशेष हुने पुष्टि गरिसकेको छ ।

सुरेश न्यौपानेको निर्देशनमा निर्माण हुने चलचित्रमा सलिनमान र मीनाका साथमा अर्का अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

निर्देशक सुरेशले यसअघि चलचित्र ‘रंगी’ निर्देशन गरेका थिए ।

चलचित्रको पटकथा तथा संवाद भने मन्दिप गौतमले तयार पारेका हुन् । सिनेमामा रोमन बज्रचार्यको पार्श्व संगीत, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, मनोज श्रेष्ठको भिएफएक्स तथा राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ ।

निर्माण पक्षले हालसम्म चलचित्रका अन्य कलाकारहरूको नाम सार्वजनिक गरेको छैन । ‘फर्स्ट लुक’ सार्वजनिक गरेपछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टोली निकै उत्साहित छ । दर्शकको प्रतिक्रिया र बजारको अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले छिट्टै प्रदर्शन मिति तोक्ने तयारी गरेको छ ।