विश्व सिनेमा र स्थानीय आवाजसँग किम्फ २०२६ को २३औँ संस्करण घोषणा

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औँ संस्करण २०२६ मे २७ देखि ३१ सम्म काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छाया सेन्टरमा आयोजना हुने भएको छ । महोत्सवमा २९ देशका ५० भन्दा बढी विविध तथा सशक्त कथावाचन भएका चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

किम्फले नेपाली चलचित्रप्रेमी, फिल्मकर्मी तथा आम दर्शकमाझ अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित फिचर, वृत्तचित्र, छोटा चलचित्र तथा साहसिक चलचित्रहरू प्रस्तुत गर्ने भएको छ। नेपाल पानोरमा खण्डमा समकालीन नेपालको कथा उजागर गर्ने स्थानीय प्रतिभाका चलचित्रहरू समावेश गरिएका छन् ।

“यस वर्षको चलचित्र तथा कार्यक्रमहरूको सूचीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपाली समाजलाई असर गर्ने समसामयिक विषयमा गम्भीर संवादका लागि प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,” महोत्सव निर्देशक राम्यता लिम्बू भन्छिन् ।

महोत्सवको उद्घाटन भारतकी निर्देशक त्रिबेनी राईको पुरस्कारप्राप्त चलचित्र ‘छोरा जस्तै’ नेपाल प्रिमियरबाट हुनेछ । चलचित्रमा शहरको जागिर छोडेर हिमाली गाउँ फर्किएकी विष्णुको कथा प्रस्तुत गरिएको छ, जहाँ उनले परम्पराको पालना गर्ने कि आफ्नो स्वतन्त्र पहिचान रोज्ने भन्नेबारे कठिन निर्णय लिनुपर्छ ।

अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रलाई १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रलाई १००० डलर, उत्कृष्ट फिचर फिक्सनलाई १५०० डलर तथा उत्कृष्ट छोटो फिक्सनलाई १००० डलर पुरस्कार प्रदान गरिनेछ । नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई जनही रु १ लाख प्रदान गरिनेछ । किम्फ दर्शक पुरस्कार पनि रु १ लाख रहेको छ ।