कान्समा नेपालको पहिलो आधिकारिक स्टल, बोर्ड भन्छ– दीर्घकालीन यात्राको महत्वपूर्ण सुरुवात हो
काठमाडौं । फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ ।
बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्याउने ऐतिहासिक पहलका रूपमा लिएको छ ।
चलचित्र विकास बोर्डद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कान्समा राखिएको नेपाल स्टलको स्थानीय व्यवस्थापक तथा साझेदार बेलायतमा रहेको नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सन रहेको छ ।
बोर्डले यो उपस्थिति कुनै एक चलचित्र वा टोलीको प्रवर्द्धनमा मात्र सीमित नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार, वितरक, सह–निर्माता, दर्शक र छायांकन पर्यटनसँग जोड्ने दीर्घकालीन प्रयास भएको जनाएको छ ।
बोर्डले मिति २०८२ फागुन २५ गते औपचारिक सूचना प्रकाशित गरी कान्स स्टलमा समावेश हुन इच्छुक चलचित्रकर्मीहरूबाट पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको थियो । बोर्डका अनुसार कान्समा नेपाली चलचित्रको प्रभावकारी प्रस्तुति होस् भन्ने उद्देश्यले सुरुदेखि नै खुला र समन्वयमुखी प्रक्रिया अपनाइएको थियो ।
यसै सन्दर्भमा विभिन्न विधामा छनोट भएको नेपाली चलचित्र एलिफेन्ट इन द फग लाई नेपाल स्टलमा विशेष प्राथमिकताका साथ समेट्ने तयारी बोर्डले प्रारम्भदेखि नै गरेको जनाएको छ । उक्त चलचित्रका निर्माता अनुप पौडेल र निर्देशक अविनाशविक्रम शाहलाई बोर्डमा आमन्त्रण गरी बधाई तथा शुभकामना प्रदान गरिएको र कान्स स्टलमा चलचित्रलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने विषयमा विस्तृत छलफल समेत भएको विज्ञप्तिमा उल्लेख छ ।
यस वर्ष सरकारको तीन महिने वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउने वा नयाँ व्यवस्थापन गर्ने विषयमा पनि सीमा रहेको बोर्डले जनाएको छ। त्यसैका कारण बोर्ड र नेपाल पर्यटन बोर्डका प्रतिनिधिसहित सहभागिता जनाउन सम्भव नभएको अवस्थामा बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनलाई स्थानीय साझेदारका रूपमा १५ दिनसम्म स्टल व्यवस्थापनको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।
कान्स स्टलसम्बन्धी सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट आएका टिप्पणी, चासो र सुझावलाई बोर्डले सकारात्मक रूपमा ग्रहण गरेको जनाएको छ । बोर्डले यस्ता सुझावलाई आगामी वर्षहरूमा नेपालको प्रस्तुति अझ व्यवस्थित, समावेशी, परिणाममुखी र प्रभावकारी बनाउने अवसरका रूपमा हेरेको बताएको छ ।
चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार, चलचित्रकर्मीको हकहित संरक्षण तथा नेपाली कथालाई विश्व मञ्चसम्म पुर्याउने अभियानमा आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।
बोर्डका अनुसार कान्समा नेपालको पहिलो आधिकारिक स्टल केवल उपस्थिति दर्ता गर्ने प्रयास होइन, नेपाली चलचित्रलाई विश्व बजार, सह–निर्माण, वितरण, छायांकन पर्यटन र सांस्कृतिक कूटनीतिसँग जोड्ने दीर्घकालीन यात्राको महत्वपूर्ण सुरुवात हो ।


