‘काजी’को प्रेमको चर्चा गर्दै विपिन भन्छन्– काजी–कजिनीको प्रेम पो प्रेम…

काठमाडौं । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।

विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।

उनले भने, “पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्‍यो ।”

विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । उनले श्रीमान्–श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुशी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताए ।

उनले भने, “साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुशीमा आफ्नो खुशी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ ।”

उनका अनुसार चलचित्रले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यवहारिक जीवनका साना–साना पक्षमा खोजेको छ । “ठूला–ठूला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सूक्ष्म ढंगले देखाएको छ,” उनले भने, “मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले ‘काजी–कजिनीको प्रेम पो प्रेम’ भन्नुहुनेछ।”

विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाए ।

उनले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताए । “म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु । अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,” उनले भने ।

चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उनले बताए । प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताए ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ ।