चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार निर्वाचित, समुन्द्र बनिन् महासचिव

काठमाडौं । नेपाली चलचित्र निर्देशकहरूको छाता संगठन ‘चलचित्र निर्देशक समाज’को नयाँ नेतृत्व चयन भएको छ । मंगलबार राजधानीमा सम्पन्न १८औँ वार्षिक साधारण सभा तथा महाधिवेशनबाट अरुणकुमार प्रधान भारी मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई फराकिलो मतान्तरले पराजित गरे । कुल १५९ मत खसेको मतमा प्रधानले १०९ मत प्राप्त गर्दा पराजुलीले जम्मा ४६ मत मात्र प्राप्त गरे ।

समाजको दुई उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा वरिष्ठ उपाध्यक्षमा सुवास गजुरेल र उपाध्यक्षमा दीपक वली विजयी भएका छन् । गजुरेलले ९५ मत र वलीले ७१ मत प्राप्त गरेर आगामी कार्यकालका लागि आफ्नो स्थान सुरक्षित गरे ।

त्यसैगरी, कार्यसमितिको प्रभावशाली पद महासचिवमा समुन्द्र भट्ट निर्वाचित भएकी छिन् । उनले १०६ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मतमा चित्त बुझाउनु पर्यो ।

सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवारहरू मध्ये अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरेका थिए । यस्तै, सहकोषाध्यक्ष पदमा उत्सव केसी ६७ मतका साथ विजयी भएका छन् ।

निर्वाचन प्रक्रियामा केही पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । कोषाध्यक्ष पदमा जनक खड्का निर्विरोध निर्वाचित भए ।

त्यस्तै, कार्यसमिति सदस्य पदका लागि पनि निर्वाचन आवश्यक परेन । सदस्यहरूमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।