‘काजी’बारे के भन्छिन् केकी अधिकारी ?
काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन् । फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ ।
हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ ।
“हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ,”उनले भनिन्, “मानव मनोविज्ञान नै त्यस्तो हुन्छ । तर ‘काजी’को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक र भावनात्मक गहिराइ भेटिन्छ ।”
उनका अनुसार फिल्मकी पात्र ‘काजिनी’लाई ‘काजी’ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ ।
काजिनीको पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन् । उनका अनुसार काजिनीलाई ‘काजी’ जस्तो श्रीमान् पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ । उनले भनिन्, “कजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौँ जन्ममा काजीलाई पाउनु हो भन्ने भाव छ ।”
काजीकै प्रेम र विश्वासले आफू चरित्रमा वास्तविक कजिनी नै भएर बाँचेको सुनाउँदै उनले भनिन्, “कजिनीको सबैभन्दा ठूलो आत्मविश्वास नै काजीको उ प्रतिको प्रेम र विश्वास हो । त्यो चिजले मानिसलाई कति धनी बनाउँछ । कति आत्मविश्वासी बनाउँछ भन्ने कुरा फिल्ममार्फत देखाइएको छ,” केकीले भनिन् ।
‘काजी’ यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । ग्रामीण परिवेशमा आधारित फिल्मले भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।




