‘एलिफेन्ट्स इन द फग’ हेरेपछि अनुराग कश्यपले भने- कान्समा हेरेको सबैभन्दा राम्रो दृश्य

काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वभरका फिल्मकर्मी र समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

अविनाश विक्रम शाह निर्देशित यस चलचित्रको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भएसँगै फिल्मकर्मीहरूको ध्यान खिचेको हो ।

कान्सको महत्त्वपूर्ण मानिने ‘अन सर्टेन रिगार्ड’ विधामा बुधबार वर्ल्ड प्रिमियर भएपछि विश्वभरका चलचित्रकर्मी तथा समीक्षकहरूले प्रशंसा गरिरहेका छन् ।

विशेषगरी, बलिउडका चर्चित निर्देशक तथा अभिनेता अनुराग कश्यपले सिनेमा हेरेपछि सामाजिक सञ्जाल ‘लेटरबक्सडी’ मार्फत आफ्नो प्रतिक्रिया दिँदै फिल्मको निकै प्रशंसा गरेका छन् ।

कश्यपले यो चलचित्रलाई नेपाली सिनेमाको क्षेत्रमा एउटा ‘विशाल फड्को’ को संज्ञा दिएका छन् । उनले लेखेका छन्, “कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’ मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ । दीपक रौनियार र मीन बहादुर भामपछि अविनाश विक्रम शाहले लेखकबाट एक उत्कृष्ट निर्देशकका रूपमा आफूलाई अत्यन्त सुन्दर ढंगले रूपान्तरण गरेका छन् ।”

साथै, कश्यपले मुख्य अभिनेत्री पुष्पा थिङको अभिनयलाई ‘शक्तिशाली’ भन्दै उनको कामको विशेष तारिफ समेत गरेका छन् ।

यस्तै, प्रतिष्ठित हलिउड म्यागजिन ‘भेराइटी’ले चलचित्र ‘एलिफेन्ट्स इन द फग’को समीक्षा गर्दै यसलाई दक्षिण एसियाको ट्रान्सजेन्डर समुदायको पहिचान र स्वीकृतिको विषयलाई सूक्ष्म रूपमा चित्रण गरिएको ‘मनछुने फिल्म’ भनेको छ ।

उक्त समीक्षामा भनिएको छ, “निर्देशक शाहले समाजमा ट्रान्स पहिचानप्रतिको लेनदेनमुखी व्यवहार र उनीहरूको अस्तित्वको संघर्षलाई निकै गहिराइमा पुगेर पर्दामा उतारेका छन् ।”

‘एलिफेन्ट्स इन द फग’ ट्रान्सजेन्डर शरणार्थीहरूको कथामा आधारित छ । चलचित्रको कथावस्तु जङ्गलको छेउमा बस्ने एक ट्रान्सजेन्डर महिला र उनले आफ्नो हराएकी छोरी खोज्न गरेको संघर्षको वरिपरि घुम्छ ।

चलचित्रको केही समयअघि सार्वजनिक भएको ट्रेलरमा जङ्गलमा हराएकी छोरी खोज्ने आमाको प्रयास र त्यस क्रममा समाज तथा प्रकृतिबाट आइपर्ने अवरोधहरूलाई मार्मिक ढंगले देखाइएको थियो ।

यो चलचित्र निर्माणका क्रममा अन्तर्राष्ट्रिय जगतबाट समेत साथ पाएको थियो । ‘एलिफेन्ट्स इन द फग’ले वि.सं. २०८१ सालमा नर्वेको प्रतिष्ठित फिल्म फण्ड ‘सरफन्ड’बाट ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख नेपाली रुपैयाँ) को ग्रान्ट जितेको थियो ।

कान्समा नेपाली चलचित्र हरूको बढ्दो उपस्थितिले विश्व सिने जगतमा नेपालको कथा र शैली स्थापित हुँदै गएको संकेत गरेको छ । ‘शाम्बाला’ पछि कान्समा ‘एलिफेन्ट्स इन द फग’ ले पाएको यो चर्चाले नेपाली फिल्मकर्मीहरूलाई थप उत्साहित बनाएको छ ।

चलचित्रको प्रिमियरअघि निर्देशक अविनाश विक्रम शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्पा थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे र चयन अधिकारी कान्सको रेड कार्पेटमा प्रस्तुत भएका थिए । नेपाली पहिरन र मौलिकता झल्किने शैलीमा रेड कार्पेटमा उत्रिएका उनीहरूको उपस्थिति अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चाको विषय बनेको थियो ।