चलचित्र ‘बेहुली’को छायांकन सकियो, भदौ १२ मा प्रदर्शन
काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायांकन ४५ दिनमा सकिएको छ । दुईवटा गीतको छायांकन भने अझै बाँकी छ ।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ । रिलिजको नजिकै रहेको हरितालिका तीजको भावना र बेहुलीको कथाबीचको यो तालमेल दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको अपेक्षा छ।
चलचित्रमा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चो छ । ‘होस्टेल ३’ बाट चलचित्र यात्रा शुरू गरेका कुलब्वाय यसपटक एउटा परिपक्व प्रेमकथामा दिव्यासँग स्क्रिन शेयर गर्दैछन् । दुवैको स्क्रिन केमेस्ट्री कस्तो रहला भन्ने कुराले दर्शकमाझ उत्सुकता जगाएको छ।
चर्चित सङ्गीतकार अर्जुन पोखरेल पहिलो पटक निर्माताको भूमिकामा होमिएका यस चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् । कथा माधव शर्माले लेखेका हुन् । सुपरहिट ‘होस्टेल ३’ मा पनि यही निर्देशक–लेखक जोडीले काम गरेका थिए ।
चलचित्रमा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, बिशाल पहारी, कर्मा लामा, दिपक गौली , बिमल यादब, अबिरल श्रेस्ठ, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरू पनि चलचित्रमा छन् ।
कार्यकारी निर्माता सुमन थिङ तामाङ र सहनिर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल छन् । नरेन्द्र मैनालीको डीओपी रहेको छ ।




