विपिन र जसिता उत्कृष्ट अभिनेता-अभिनेत्री, पललाई अवार्ड
काठमाडौं । ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ मा चलचित्र ‘ऊनको स्वीटर’ले सर्वाधिक अवार्ड जितेको छ ।
शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित समारोहमा नवीन चौहानद्वारा निर्देशित सिनेमा ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित अन्य दुई विधामा अवार्ड जित्न सफल भएको हो ।
‘कला, संस्कृति र पर्यटनका लागि चलचित्र’ भन्ने मूल नाराका साथ सम्पन्न भएको यस समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ ‘उत्कृष्ट फिचर फिल्म’ घोषित भयो भने सोही चलचित्रबाट मुख्य कलाकार विपिन कार्कीले ‘उत्कृष्ट अभिनेता’ र नवीन चौहानले ‘उत्कृष्ट निर्देशक’को अवार्ड हात पारे ।
समारोहमा चलचित्र ‘जेरी अन टप’बाट जसिता गुरुङले ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड प्राप्त गरिन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरियो ।
यसैगरी, कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ । यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्पानित गरियो ।
पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका चौहानले आफ्नो कामको मूल्याङ्कन भएकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए ।
अभिनेत्री जसिता गुरुङले आफ्नो जीवनको पहिलो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै सम्पूर्ण दर्शकप्रति समर्पण गरिन् ।
‘सोसियल आइकन एक्टर अवार्ड’बाट सम्मानित अभिनेता शाहले अवार्ड थापेपछि यो सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको र आगामी दिनमा पनि आफ्नो संस्था मार्फत सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण “इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद” रहेको थियो ।
वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल बोलाएर पहिलो पटक ‘नेपाल चलचित्र अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद सम्पन्न भएको थियो । वरिष्ठ निर्देशक तथा नेपाली चलचित्रका इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको सो अन्तरक्रियामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्नो गौरवमय अनुभव साटेका थिए ।
समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ र महोत्सवकी संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली चलचित्रको माध्यमबाट विश्वसामु चिनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको र कलाको सम्मान सँगसँगै चलचित्रलाई पर्यटन प्रवर्द्धनसँग जोड्न आयोजक प्रयासरत रहेको प्रष्ट पारे ।
समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार तथा निर्देशक/निर्माता रेखा थापा, अभिनेता दिल श्रेष्ठ, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, कलाकार पवित्रा साँकी (मिस पबि), गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
महोत्सवकी संरक्षक भवानी राणाले आयोजक संस्था ‘रेड चेरी मिडिया’लाई महोत्सवको निरन्तरताको लागि शुभकामना दिइन् भने सल्लाहकार डा. महेन्द्रकुमार मल्लले आगामी वर्षहरूमा महोत्सवलाई थप परिष्कृत र जिम्मेवार रूपमा आयोजना गरिने जनाए ।
यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट शुभारम्भ भएको थियो । तत्पश्चात् यसै महोत्सवको स्थानीय संस्करणको रूपमा सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो ।




