चलचित्र ‘काजी’ हेरेपछि दर्शक भन्छन्- काजी र कजिनीको जोडी साँच्चिकै मन छुने छ
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘काजी’ दर्शकले रुचाएका छन् ।
अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको यस चलचित्रले पहिलो दिनबाटै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।
विशेष गरी विपीनले निभाएको ‘काजी’ पात्रको चौतर्फी प्रशंसा भइरहेको छ । हलमा चलचित्र हेर्न पुगेका वृद्धवृद्धा देखि युवापुस्ता सम्मले सिनेमाको कथावस्तु र अभिनयको तारिफ गरेका छन् ।
एक दम्पती दर्शकले भने, ‘फिल्मले पुरानो समाज र सम्बन्धको मर्मलाई राम्रोसँग समातेको छ । काजी र कजिनीको जोडी साँच्चिकै मन छुने छ ।’
त्यस्तै, युवा दर्शकहरूले चलचित्रमा देखाइएको मौलिकता, संगीत र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् ।
चलचित्र हेरेर निस्किएका दर्शकहरूको प्रतिक्रिया बुझ्न हल पुगेका अभिनेता विपीन कार्की निकै उत्साहित देखिए । उनले मिडियासँग कुरा गर्दै भने, ‘आफूले दुख गरेर बनाएको कामलाई दर्शकले यसरी रुचाइदिँदा निकै खुसी लाग्दो रहेछ । पहिलो गाँसमै ढुङ्गा लागेन, बरु दर्शकको अपार माया पाइयो ।’
विपीनका अनुसार ‘काजी’ पात्र एउटा आदर्श पुरुषको रुपमा चित्रण गरिएको छ । हलमा भेटिएका कतिपय महिला दर्शकहरूले ठट्टा गर्दै ‘काजीजस्तै श्रीमान् चाहियो’ भनिरहेका थिए । यस विषयमा विपीनले दर्शकलाई मुस्कुराउँदै जवाफ दिए, ‘काजी त एउटा मात्रै छ र त्यो फिल्ममा मात्र सम्भव छ ।’
दर्शकबाट यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिनुभएको विपिनले बताए ।
यस्तै, अभिनेत्री केकीले ‘काजी’ हेरेर निस्किएका दर्शकले दिएको प्रतिक्रियाले आफू ढुक्क भएँको बताइन् । दर्शकहरूको प्रतिक्रिया उत्साहित देखिएकी उनले दर्शकको ध्यानमा राखेर नै आफ्नो पात्रलाई जीवन्त बनाउने प्रयास गरेको कुरा व्यक्त गरिन् ।
उनी भन्छिन्,‘आफ्नो पात्र ‘कजिनी’ मार्फत दर्शकले प्रेम, समर्पण र सम्बन्धका लागि गरिने सम्झौताहरूलाई बुझुन् भन्ने चाहना राख्नुभएको छ । जीवनमा केही कुरा रोज्दा अर्को कुरा छोड्नुपर्छ र दर्शकले त्यो पात्रको निर्णय र त्यागलाई महसुस गर्नुनै आफ्नो पात्रको सफलता हो ।’
चलचित्रमा अभिनेत्री गरिमा शर्माले ‘साली’ को भूमिका निभाएकी छिन् । उनले आफ्नो भूमिकालाई दर्शकले निकै रुचाएको बताइन् । विपीन र गरिमाको ‘भिनाजु-साली’ को केमेस्ट्रीलाई दर्शकले पर्दामा निकै इन्जोय गरेका छन् । गरिमाले भनिन्, ‘हलमा दर्शकको प्रतिक्रिया देख्दा हाम्रो टिमको मेहनत सफल भएको महसुस भएको छ ।’
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको चलचित्रमा विपीन, केकी र गरिमाका अलावा प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन् ।
लेखक प्रदीप भारद्धाजको कथा रहेको चलचित्रका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका हुन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको यो सिनेमा रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।




