कान्समा इतिहास रचेर स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, सरकारद्वारा भव्य स्वागत र नगद पुरस्कारको घोषणा
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा ऐतिहासिक ‘जुरी प्राइज’ जितेर नेपाली चलचित्रको टोली सोमबार स्वदेश फर्किएको छ । ‘अन सर्टेन रिगार्ड’ विधामा महत्त्वपूर्ण पुरस्कार जितेर फर्किएको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
विमानस्थलको विशिष्ट कक्षमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले फिल्मका निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र अभिनेत्री पुष्पा थिङ लामालाई खादा र माला लगाएर सम्मान गरे ।
टोलीको स्वागतका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, र निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधानलगायत लगाएतको उपस्थिति रहेको थियो ।
स्वागतपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा देशको शिर उँचो बनाएकोमा खुसी व्यक्त गरे । उनले टोलीलाई तत्काल प्रोत्साहन स्वरूप चलचित्र विकास बोर्डका तर्फबाट २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मन्त्री तिमिल्सिनाले भने, “यो जित अविनाश जी र उहाँको टोलीको मात्र नभई सिंगो नेपालको हो । सरकारले यो उपलब्धिलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा थप कसरी सम्मान र सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछ ।”
गत बिहीबार कान्समा वर्ल्ड प्रिमियर भएको यस फिल्मले शनिबार आयोजित समापन समारोहमा ‘अन सर्टेन रिगार्ड’ विधा अन्तर्गतको ‘जुरी प्राइज’ प्राप्त गरेको थियो । कान्स फिल्म फेस्टिभलको मुख्य विधापछि यो दोस्रो महत्त्वपूर्ण श्रेणी मानिन्छ । नेपाली फिचर फिल्मले कान्सको यो प्रतिष्ठित विधामा अवार्ड जितेको यो पहिलो पटक हो, जसले नेपाली सिनेमालाई विश्व मानचित्रमा नयाँ उचाइमा पुर्याएको छ ।
प्रिमियरपछि यो फिल्मले विश्वभरका फिल्मकर्मी र समीक्षकहरूको ध्यान खिचेको छ । बलिउडका चर्चित निर्देशक तथा कलाकार अनुराग कश्यपले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले फिल्म रेटिङ प्लाटफर्म ‘लेटरबक्सडी’ मा प्रतिक्रिया दिँदै लेखेका छन्, “यो फिल्म नेपाली सिनेमाका लागि एउटा विशाल फड्को हो । फिल्मको क्लाइमेक्स (अन्त्य) मैले यसपटक कान्समा हेरेका सबै फिल्ममध्येकै उत्कृष्ट र शक्तिशाली दृश्य हो ।”
अविनाश विक्रम शाहको लेखन तथा निर्देशनमा तयार भएको ‘एलिफेन्ट्स इन द फग’ ले तराईको एउटा यस्तो गाउँको कथा भन्छ, जहाँ जंगली हात्तीको आतंक छ । यही आतंक र त्रासको बीचमा बसोबास गर्ने लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) समुदायको संघर्ष, पहिचान र उनीहरूको सामाजिक अवस्थालाई फिल्मले कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्की लगायतको मुख्य अभिनय रहेको छ ।


