बक्सअफिसमा ‘लालीबजार’को दबदबा, ‘परालको आगो’ पनि बलियो, यस्तो छ अन्य ४ फिल्मको अवस्था

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो व्यापारिक विवरण (बक्सअफिस रिपोर्ट) सार्वजनिक गरेको छ । बोर्डले आफ्नो नियमित ‘सिनेपाः बक्सअफिस’ प्रणालीमार्फत गत शनिबारसम्मको तथ्याङ्क बाहिर ल्याएको हो ।

सार्वजनिक विवरण अनुसार हाल प्रदर्शनमा रहेका फिल्महरूमध्ये स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’ ले बक्सअफिसमा आफ्नो बलियो पकड जमाएको छ ।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले व्यावसायिक रूपमा सुखद नतिजा निकालेको छ । बोर्डको रिपोर्ट अनुसार तेस्रो सातामा प्रदर्शनरत यस फिल्मले कुल ५ करोड ७६ लाख ३१ हजार ४७१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ । यम थापाको निर्देशनमा तयार भएको यस फिल्मको यो कमाइ १ लाख ९६ हजार ४०६ वटा टिकट बिक्रीबाट भएको हो ।

वैशाख ११ गतेबाट प्रदर्शनमा आएको लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले पनि बक्सअफिसमा उत्साहजनक प्रदर्शन गरेको छ । यस फिल्मले ४ करोड २७ लाख ५३ हजार ६४५ रूपैयाँ ग्रस कमाएको छ । सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापाको मुख्य अभिनय रहेको यो फिल्मले १ लाख ५३ हजार ९२५ वटा टिकट बिक्री गर्न सफल भएको छ ।

वैशाख २५ गते नै ‘लालीबजार’ सँगै प्रदर्शनमा आएका अन्य दुई फिल्महरूको व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । प्रकु पाण्डेयको निर्देशन तथा विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको ‘मालती मंगले’ले ५१ लाख ६३ हजार रूपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ । यसको १६ हजार १३७ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ ।

यस्तै, प्रेम सोनी सुनारले निर्देशन गरेको ‘गुरूआमा’ ले २९ लाख ४२ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । वैशाख २५ मै रिलिजमा आएको मिथिला शर्माको मुख्य भूमिका रहेको यो चलचित्रका ९ हजार ३२७ वटा टिकट बिक्री भएका छन् ।

यही जेठ ८ गते (शुक्रबार) बाट प्रदर्शनमा आएका दुई फिल्महरू ‘मितज्यू’ र ‘काजी’ को व्यापारिक नतिजा भने आगामी साताको बक्सअफिस रिपोर्ट मा सार्वजनिक हुने छ ।

६ फिल्मको बक्सअफिस विवरण एक नजरमा

चलचित्रको नामप्रदर्शन मितिजम्मा कमाइ (ग्रस)बिक्री भएको टिकट
लालीबजारवैशाख २५रु ५,७६,३१,४७११,९६,४०६
परालको आगोवैशाख ११रु ४,२७,५३,६४५१,५३,९२५
मालती मंगलेवैशाख २५रु ५१,६३,५९३१६,१३७
गुरूआमावैशाख २५रु २९,४२,५७६९,३२७
लाइफ ड्यामेजजेठ १रु २८,४६,१७०९,२४१
एक मुठ्ठी बादलजेठ १रु ५,२१,८२५१,५०१