‘गंगा रानी’मा वर्षा शिवाकोटी अनुबन्ध, नयाँ कलाकारको खोजी
काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ ।
रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ ।
पोस्टरको अगाडि एक युवकको कालो छाया देखाइएको छ, जसले सिनेमाको कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ । ती व्यक्ति को हुन त्यो खुलाइएको छैन ।
पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ । सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ । यस सिनेमामा वर्षा रानी पात्रको भूमिकामा देखिने जनाइएको छ ।
०८१ सालमा ‘बुलाकी’बाट लेखन विधामा राष्ट्रिय अवार्ड जितेका राजबहादुर सानेको लेखन तथा निर्देशनमा बन्न लागेको यो सिनेमाको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने छ ।
आहा फिल्मस्को प्रस्तुतिमा बन्ने सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन् । वर्षा अनुबन्ध भएसँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ । एक पोस्टरमार्फत टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो ।
पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ ।




