संगीतबाट सुरु भयो चलचित्र ‘पारस’को काम

काठमाडौं । कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’को गीत रेकर्डिङ कार्य सुरु भएको छ । केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीतका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन् ।

उक्त गीतमा संगीतकार तथा गायक कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ । निर्देशक चौलागाईं हाल गीतलाई उत्कृष्ट बनाउने काममा व्यस्त छिन् ।

एक्सन तथा सामाजिक कथावस्तुमा आधारित रहने यस चलचित्रमा अभिनेता निखिल उप्रेती, अभिनेत्री जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंहलगायतको मुख्य भूमिकामा रहनेछ ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् भने यसको छायांकनको जिम्मेवारी पुरुषोत्तम प्रधानले पाएका छन् । निर्माण टिमले हालसम्म अन्य प्राविधिक तथा बाँकी कलाकारहरूको नाम गोप्य नै राखेको छ । गीत रेकर्डिङको काम अगाडि बढेसँगै निर्माण पक्षले चलचित्रलाई छिट्टै छायांकनमा लैजाने तयारी थालेको छ ।