फेसबुक प्रेम र वर्गीय विभेदको कथामा ‘नौ डाँडा काटेर’, आशीर्वाद र अश्विनीको अभिनय

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक भएको छ । म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’ मा समावेश यो पहिलो गीत ‘धड्कन नेपाल ग्रुप’ को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा प्रताप शाहीको मर्मस्पर्शी शब्द र सुवास पुन मगरको सङ्गीत रहेको छ ।

गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई प्रस्तुत गरिएको छ । विशेष गरी समयमा सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम सम्बन्ध र त्यसले निम्त्याउने उतारचढावलाई मुख्य विषयवस्तु बनाइएको छ ।

प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तर तथा सहर र गाउँको परिवेशलाई संवादसहित उतारिएको भिडियोमा आशीर्वाद क्षेत्री र अश्विनी शाहीको मुख्य अभिनय रहेको छ ।

प्रेममा डुबेको एक युवकको भावनात्मक अनुभूति प्रस्तुत गर्दा युवतीलाई स्वर्गकी अप्सरा र पूर्णिमाको जूनसँग तुलना गर्दै उनको सौन्दर्यको वर्णन गरिएको गीतमा सुन्न सकिन्छ ।

भिडियोमा गाउँमा लुगा सिलाउने काम गर्ने युवक जब आफ्नो फेसबुक प्रेमीलाई भेट्न काठमाडौँ पुग्छन् सोचेभन्दा बिल्कुलै फरक परिस्थिति पाउँछ । उसले सामान्य ठानेकी युवती वास्तवमा एक धनाढ्य (अर्बपति) की छोरी हुन्छिन् । त्यहाँ क्लास र हैसियतबीचको खाडल भिडियोमा स्पष्ट देखिन्छ ।

नर्वेमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ले निर्माण गरेको यस भिडियोलाई हरि हुमागाईँले निर्देशन तथा सम्पादन गरेका हुन् ।

उत्तम हुमागाईँको छायाङ्कन रहेको भिडियोमा आशीर्वाद र अश्विनीका अलावा राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले लगायत कलाकारहरूको अभिनय रहेको छ ।

धड्कन नेपाल ग्रुपका संस्थापकहरू सङ्गीतकार मगर र गीतकार शाही हुन् । लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका सङ्गीतकार मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत हुन् ।

यस प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल हुन् । प्रवीण मानन्धरले रङ्ग संयोजन गरेका छन् ।

यो म्युजिकल सर्ट फिल्मले दर्शक र श्रोताको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।