‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट, सबैले हेर्न सक्ने

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । अब यो चलचित्र हेर्न बालबालिकाले अभिभावकको साथ लिएर पनि हल जानु पर्ने छैन ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र हेर्न सबैलाई बाटो फुकेको छ । “के बच्चा के वृद्ध÷वद्धा रोल नं १ सबैले हेर्न मिल्छ, भोलिबाट देशभर,” निर्माता पौडेलले फेसबुकमा लेखेका छन् ।

‘रोल नं १’ २ घण्टा ३२ मिनेट लामो सिनेमा रहेको सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सर्टिफाई गरेको सर्टिफिकेटमा उल्लेख छ ।

भोलिबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ खुला भइसकेको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा चलचित्रको खुलेर तारिफ गरेको निर्माण टिमले बताएको छ । कमिटीले सिनेमाको तारिफ गरेपछि निर्माण टिम उत्साहित बनेको छ ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।