‘सेप अफ मोमो’ शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदै

काठमाडौं । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यु फिचर फिल्म ‘सेप अफ मोमो’ शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ ।

फिल्ममा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन् ।

डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सह–निर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ। फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ ।

फिल्ममा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन् ।

छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन् । ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ ।

निर्देशक राईले ‘शेप अफ मोमो’ आफ्नो व्यक्तिगत अनुभव र वरपरका महिलाहरूको जीवनबाट प्रेरित भएर बनाइएको बताएकी छन् ।

“मेरो पहिलो फिल्म आफूले नजिकबाट देखेको संसारबाट आउनुपर्छ भन्ने लाग्थ्यो,” उनले भनेकी छन् । उनका अनुसार स्वतन्त्र फिल्महरूलाई हलसम्म ल्याउन चुनौतीपूर्ण हुने भए पनि फिल्म भारत र नेपालमा प्रदर्शन हुन लाग्नु टोलीका लागि महत्वपूर्ण उपलब्धि हो ।

यो फिल्म ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । ती महोत्सवमा फिल्मले पुरस्कारसँगै प्रशंसासमेत पाएको छ ।

राना दगुबत्तीले फिल्मलाई “शान्त तर गहिरो प्रभाव छोड्ने कथा” को संज्ञा दिएका छन् । उनका अनुसार ‘स्पिरिट मिडिया’ भावनात्मक इमान्दारितासहित आफ्नै परिवेशमा गहिरो जरा गाडेका कथाहरूलाई प्राथमिकता दिने गर्छ ।

कार्यकारी निर्माता जोया अख्तरले फिल्मले सिक्किमेली महिलाहरूको जीवनलाई अत्यन्त आत्मीय र प्रामाणिक ढंगले प्रस्तुत गरेको बताएकी छन् ।