गाञ्जावाला र सोनुको स्वर रहेको ‘रावायण’को गीतमा पल र पूजाको प्रेम

काठमाडाैं । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ ।
तीजको अवसर पारेर आगामी भदौ २१ गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा बलिउड गायक कुणाल गाञ्जावाला र सोनु कक्करको स्वर रहेको छ ।
भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्णहरि बरालकाको शब्द, भारतीय संगीतकार नीरज सिंहको संगीत संयोजन रहेको छ ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सिनेमाका शीर्ष कलाकार पल शाह र पूजा शर्मा फिचर्ड छन्।गीतको सुरुवातमा उनीहरुलाई जंगलको बीचको बाटोमा कारमा यात्रा गरिरहेको देखाइएको छ । जहाँ उनीहरुबीच रोमान्टिक भाव देखिन्छ । त्यसपछि पल र पूजालाई काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा देख्न पाइन्छ । जहाँ कोरस डान्सरहरुसँग उनीहरुले नृत्य गरेका छन् ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् ।
यो चलचित्रमा पल र पूजाका अलावा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन छ ।
सिनेमाको वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ ।