दुई दशकपछि उत्तम र निरुताको कमब्याक
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सदावहार जोडी उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘सारथी’ को छायांकन अन्तिम चरणमा पुगेको छ ।
म्याग्दीको पर्यटकीय स्थल गुर्जा खानीमा एक महिना लामो सेड्युल पुरा गर्दै निर्माण टोली काठमाडौं फर्किएको छ ।
गत वैशाख १५ गतेबाट छायांकन सुरु भएको यस सिनेमाले गुर्जा खानीको सम्पूर्ण दृश्यहरू कैद गरिसकेको छ । निर्देशक कुमार गजुरेलका अनुसार सिनेमाको मुख्य भागको छायांकन सकिएको छ र अब काठमाडौंमा मात्र एक दिनको काम बाँकी रहेको छ ।
‘गुर्जा खानीको सुन्दरता र स्थानीय परिवेशलाई हामीले सफलतापूर्वक पर्दामा उतारेका छौं । अब केही दिनमै काठमाडौंको एक दिनको छायांकन सकेर हामी पोष्ट-प्रोडक्सनको काममा लाग्नेछौं,’ निर्देशक गजुरेलले बताए ।
‘सारथी’ मार्फत करिब दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको पर्दामा पुनर्मिलन भएको हो । एक समयको यो निकै चर्चित र सफल जोडीलाई पुनः एकसाथ देख्न पाउनु दर्शकका लागि ठूलो कौतूहलको विषय बनेको दाबी निर्माण टिमको छ ।
‘दर्पण छायाँ’बाट सुरु भएको उनीहरूको सहकार्य सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’सम्म अटुट रह्यो । यो बीचमा उनीहरू ‘मलाई माफ गरिदेऊ’, ‘लहना’, ‘यो कस्तो प्रेम’ जस्ता आधा दर्जनभन्दा बढी सिनेमामा जोडी भएर देखिए ।
‘उपहार’पछि उत्तम र निरुताको कुनै चलचित्रमा सहकार्य नगरेका यी दुई कलाकारको ‘कमब्याक’ले सिनेमालाई थप विशेष बनाएको निर्माण टिमले बताएको छ ।
सामाजिक कथावस्तुमा आधारित सिनेमाले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको टिमको भनाइ छ ।
निर्देशक गजुरेलका अनुसार यस सिनेमाले गुर्जा क्षेत्रको ओझेलमा परेको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
सिनेमामा उत्तम र निरुताका साथमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतको अभिनय छ ।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण भइरहेको यस सिनेमाका निर्माताहरू तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् ।
धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सह-निर्माता रहेका छन् भने प्रदिप रायमाझी र रदिप श्रेष्ठले कार्यकारी निर्मातामा छन् । सिनेमालाई संकल्प भुजेलले छायांकन गरेका हुन् भने अमीर केसी लाइन प्रोड्युसरका रूपमा रहेका छन् ।
निर्माण पक्षका अनुसार सिनेमाको पोष्ट-प्रोडक्सनको काम सकिएलगत्तै प्रदर्शन मिति घोषणा गरिनेछ । दुर्गमको छायांकन चुनौतीपूर्ण भए तापनि सोचे अनुरूपको काम भएकोमा निर्माण टोली उत्साहित छ ।


