‘ज्वाइँ साब’को टिजरमा विवाहका लागि गरेको संघर्षसँगै नीतिसँग जितुको बिहे

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ ।
जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको सिनेमाको सार्वजनिक टिजरले चलचित्र कमेडीको भरपुर खुराक रहेको सङ्केत दिइएको छ।
फूलपातीको अवसरमा आगामी असोज २४ गतेदेखि रिलिज हुने चलचित्रको बुधवार सार्वजनिक टिजर हेर्दा सुरु देखि अन्त्यसम्म पात्रहरूले विवाह गर्न खोजिरहेको र तिनका रमाइला घटनाको झलक दिन्छ, जसले गर्दा दर्शकहरूमा कौतुहलता बढ्ने देखाउँछ।
सिनेमा निर्माण टोलीका सोच अनुसार यो टिजरले कथाको महत्त्वपूर्ण पक्षहरूलाई खुलासा नगरी मात्र दर्शकलाई आकृष्ट गर्न खोजेको हो। टिजरको अन्तिममा जितु र नीति बेहुला-बेहुली बनेर देखिएका छन् । हात्तीमाथि चढेर बेहुलीको भेषमा देखिएकी नीतिको घरमा जितु भित्रिएका छन् । बुद्धि र हिमेश पनि विवाहकै मनोदशामा गुज्रिएको बुझ्न सकिन्छ ।
दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउन सार्वजनिक भएको यो टिजरले सिनेमाको बारेमा उत्सुक बनाउनुका साथै दसैँमा परिवार र आफन्तसँगै रमाइलो गर्न चाहने दर्शकहरूका लागि हँसिलो मनोरञ्जन दिने देखिएको छ।
चलचित्रका निर्देशक वसन्त निरौलाले रमाइलो तरिकाले निर्माण गरिएको यस सिनेमाले दर्शकहरूलाई दसैँको बेला पूर्ण रूपमा मनोरञ्जन दिने दाबी गरेका छन्।
रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको ‘ज्वाइँ साब’मा जितु र नीतिसँगै बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ। विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।