‘आ बाट आमा २’ को छायांकन सुरु, चित्लाङदेखि लन्डनसम्म खिचिने
काठमाडौं । गत वर्षको सफल चलचित्र ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ ।
मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा सोमबार क्यामरा पुजा गर्दै निर्माण टिमले चलचित्रको ‘क्यामरा रोल’ गरेको हो ।
निर्देशक चन्द्र पन्तका अनुसार चलचित्रको छायांकनका लागि एक महिनाको कार्यतालिका (सेड्युल) तय गरिएको छ । चित्लाङबाट सुरु भएको यो यात्रा काठमाडौँ हुँदै बेलायतको लन्डनसम्म पुग्नेछ ।
“हामीले चित्लाङ र काठमाडौँको छायांकन सकेलगत्तै बाँकी दृश्यहरू खिच्नका लागि सम्पूर्ण टिम लन्डन प्रस्थान गर्ने तयारी गरेका छौँ,” निर्देशक पन्तले बताए ।
यो चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा मलिका महतको प्रवेशले चर्चा थपेको छ । निर्माण टिमले छायांकन सुरु हुनुभन्दा एक दिन अगाडि आइतबार मात्रै उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेको थियो । पल शाह र मलिका महतको अनस्क्रिन केमेस्ट्री हेर्न दर्शकहरू निकै उत्साहित देखिएका छन् ।
चलचित्रमा पल र मलिकाका साथै रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य अभिनय रहनेछ ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको ‘आ बाट आमा २’ को कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार पारेका हुन् ।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा झन्डै १४ करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो । त्यसको सिक्वेलका रूपमा निर्माण हुन लागेको ‘आ बाट आमा २’ ले अघिल्लो कथालाई निरन्तरता दिने निर्देशक पन्तले बताएका छन् ।
यस चलचित्रलाई आगामी दशैँको अवसर पारेर असोज ३० गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । नेपालभर यसको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।


