‘लालीबजार’को कमाइ ८ करोड नजिक, ‘मितज्यू’ र ‘काजी’को बक्सअफिस कलेक्सन कस्तो ?
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो व्यावसायिक विवरण (बक्सअफिस रिपोर्ट) सार्वजनिक गरेको छ । बोर्डको आधिकारिक ‘सिनेपा: बक्सअफिस’ प्रणालीअनुसार जेठ १६ गते शनिबार राति ११:५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
प्रदर्शनरत ६ वटा चलचित्रको सार्वजनिक विवरणअनुसार स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्दै आफूलाई बलियो सावित गरेको छ ।
वैशाख २५ देखि प्रदर्शनमा आएको यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ ले बक्सअफिसमा लोभलाग्दो नतिजा निकालेको छ । शनिबार रातिसम्म यस चलचित्रले कुल २ लाख ६९ हजार २०२ थान टिकट बिक्री गर्दै ७ करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ४१ पैसा ग्रस कलेक्सन गरेको छ । यो कमाइ ८ करोडको आँकडाभन्दा केही मात्र टाढा छ ।
वैशाख ११ देखि प्रदर्शनमा आएको लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ ले पनि दोस्रो स्थानमा रहँदै सुखद व्यापार गरिरहेको छ । यसले हालसम्म १ लाख ५४ हजार ३४ थान टिकट बिक्री गर्दै ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ २० पैसा संकलन गरेको छ ।
जेठको दोस्रो साताबाट प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’ ले पनि बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शनिबारसम्मको रिपोर्टअनुसार यसले ४१ हजार २४८ थान टिकट बिक्री गर्दै १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ४३ पैसा आम्दानी गरी करोडको क्लबमा आफूलाई सुरक्षित गरेको छ ।
विपिन कार्कीको मुख्य भूमिका रहेको र लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र ‘काजी’ ले सुरुवाती दिनमा मध्यम व्यापार गरेको छ । जेठ ८ देखि प्रदर्शनमा आएको यस चलचित्रले १३ हजार ७ थान टिकट बिक्री गर्दै ४० लाख ८८ हजार ९७५ रुपैयाँ कमाएको छ ।
त्यस्तै, वैशाख २५ देखि प्रदर्शनमा आएको विजय बराल र वर्षा राउत स्टारर चलचित्र ‘मालती मंगले’ ले १६ हजार ९८८ थान टिकट बिक्री गरी ५१ लाख ७३ हजार ७९३ रुपैयाँ ८८ पैसा संकलन गरेको छ ।
जेठ १ गते रिलिज भएको चलचित्र ‘लाईफ ड्यामेज’ ले १० हजार ८५५ थान टिकट बिक्री गर्दै ३३ लाख २६ हजार ३२० रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।


