कलाकारलाई दिएको पारिश्रमिक पनि उठाउन छाडे चलचित्रले

काठमाडौं । एकाध सिनेमाको अंकगणितलाई छोड्ने हो अधिकांश नेपाली सिनेमाको कमाई निकै दयनीय छ । सुन्दा नमिठो लाग्न सक्छ, तर सत्य यही हो करोडका सिनेमा लाखमा सीमित छन् ।

करोडौं रुपैयाँ लगानी गरेर बनाएका सिनेमाको ग्रसकलेक्सन एकाध लाखमा सीमित छन् । यसको उदाहरणका लागि धेरै भौतारिरहनु पर्दैन । पछिल्लो एक महिनायता रिलिज भएका चलचित्र हेरे मात्रै पुग्छ ।

‘लालीबजार’ र ‘मितज्यू’लाई एक छिन बाहिर राख्ने हो भने बाँकी सिनेमाको बक्सअफिस कलेक्सन निकै दयनीय छ । जस्तै ‘लाइफ ड्यामेज’को कलेक्सन ३३ लाख, ‘काजी’को कलेक्सन ४० लाख, ‘मालती मंगले’को कलेक्सन ५१ लाख, एक मुठ्ठी बादल’को कलेक्सन ५ लाख आदि ।

करोडौंमा बनेका सिनेमाको कलेक्सन ५ लाख, ३३, लाख, ४० लाख, ५१ लाखमा मै सीमित भएपछि एउटा यस्तो तथ्य केलाएर हेर्न सकिन्छ– सिनेमाको मुख्य एउटा कलाकारलाई निर्माताले दिएको पारिश्रमिक जति पनि चलचित्रले ग्रसकलेक्सन गरेका छैनन् ।

एक करोड रुपैयाँ ग्रसलेक्सन गर्दा निर्मातको हातमा सबैको सेयर कटाएर करिब ३७ लाख हात पर्छ । यसले ५ लाख, ३३, लाख, ४० लाख ग्रसकलेक्सन गर्ने चलचित्रका निर्माताको हातमा कति पैसा आइपुग्छ ? सहजै हिसाब आउँछन् ।

यसले के देखाइरहेको छ भने अधिकांश चलचित्रबाट निर्माता टाट पल्टिरहेका छन् । सिनेमा रिस्कको बिजेनस हो । त्यसैले धेरै सिनेमाको बिजनेसलाई जुवा भन्छन् । यसको अर्थ सिनेमामा फाइदाभन्दा पनि घाटाको सम्भाना धेरै छ ।

सिनेमा केही घाटामा जानु त ठिकै हो । तर, करोड लगानी गर्दा लाख पनि निर्माताको हातमा मुस्किलले पर्नुले चाहिँ निर्मातालाई हतोत्साही बनाइरहेको छ । केही लाख घाटामा जानु वा थोरै मात्रै लगानी रिकभर नहुँदा त निर्माताले फेरि सिनेमा बनाउने आँट गर्छ । तर, करोडौं लगानी गरेको सिनेमाबाट लाख पनि हातमा नपर्दा भने निर्माता फेरि सिनेमा बनाउने कि नबनाउने भनेर दोधारमा पर्नु स्वभाविक हो ।

ठूला देशका सिनेमा उद्योगमा हलबाट पैसा नउठे पनि ओटीटीलगायत प्लेटफर्मबाट लगानीको ठूलै हिस्सा निर्माताको हातमा पर्छ । तर, नेपालमा हलको विकल्प अहिलेसम्म देखिएको छैन । हलमा सिनेमा चलेर लगानी उठ्यो भने उठ्यो भने निर्माता जोगियो होइन भने अवस्था दयनीय छ ।

चलचित्रमा स्टार कलाकार पनि छन् । विदेशबाट ठूलो ब्यानरका सिनेमा पनि आएका छैनन् । पब्लिसिटीमा खर्च पनि छ । चलेका मेकर पनि छन् । तर पनि चलचित्र चल्दैन भने किन सिनेमा चलिरहेका छैनन्, करोडौंको सिनेमाले एउटा मुख्य कलाकारको पारिश्रमिक पनि उठाउँदैनन् भने केका लागि निर्माताले कुन हिम्मतले सिनेमा बनाउने यो भने सोच्नुपर्ने अवस्था आइसकेको छ ।