अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपाल प्रदर्शन सुरु
काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलबारबाट सुरु भएको छ ।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु भएको हो ।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पाठकले स्वागत मन्तव्य राख्दै यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास राखे । चीनमा नेपाली फिल्म वितरण र प्रदर्शनको पक्षमा सहयोग पुग्ने उनको अपेक्षा छ ।
कार्यक्रमको पहिलो फिल्म ‘ट्रयाप्ड’ प्रदर्शन पश्चात निर्देशक झानसँग दर्शक र पत्रकारहरूले अन्तरक्रियासमेत गरे ।
निर्देशक झानले आफ्नो किशोर अवस्थाको कालखण्डमा आफूले देखेको र सम्झना रहेको परिदृश्यलाई उतार्न यो फिल्म बनाएको बताए ।
उनले भने, “त्यो समयमा मैले देखेको र सम्झना भएको विषयहरूलाई फिल्ममा उतारेको छु । तथापि, यो फिल्मको कथा पूर्ण काल्पनिक हो ।”
एक दर्शकले ग्रामिण कथाहरूले प्राथमिकता पाइरहेको नेपाली बजारमा क्राइम थ्रिल्लर जनराको कथा ल्याउनुको उद्देश्यबारे प्रश्न गरेका थिए ।
निर्देशक झानले जवाफ दिए, “नेपाली चलचित्रकर्मी पनि मेरा साथीहरू छन् । नेपाली दर्शकले मन पराउने फिल्मको जनराबारे म केही हदसम्म जानकार छु । यो नेपाली दर्शकका लागि फरक स्वाद होइन ।”


