फागुनमा आउन नसकेको ‘स्त्री’ले घोषणा गर्यो नयाँ मिति
काठमाडौं । गत वर्षको फागुन २९ गते नै प्रदर्शनमा आउने भनिएको चलचित्र ‘स्त्री’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले आज चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै आगामी मंसिर ११ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक गरिएको पोष्टरले चलचित्रको मुड र कथावस्तुको गहिराइलाई संकेत गरेको छ । टौवा स्टुडियोले तयार पारेको यस पोष्टरको पृष्ठभूमिमा गाढा रातो रङ प्रयोग गरिएको छ, जसले सामान्यतया ‘थ्रिलर’, ‘रहस्य’ वा ‘खतरा’ लाई संकेत गर्छ ।
पोष्टरले यो चलचित्र कुनै साधारण सामाजिक कथा मात्र नभएर एउटा जटिल रहस्यको वरपर घुम्ने थ्रिलर भएको पुष्टि गर्छ ।
पोष्टरमा चलचित्रका अधिकांश कलाकारहरुको फरक–फरक अवतार देख्न सकिन्छ ।
पोष्टरमा हरेक कलाकारको नजर फरक दिशामा छ, जसले चलचित्रमा हरेक पात्रको आफ्नै छुट्टै उद्देश्य वा स्वार्थ हुनसक्ने देखाउँछ ।
जसमा दीपाश्री निरौला, नम्रता श्रेष्ठ, प्रमोद अग्रहरि, सलोन बस्नेत, रिस्ता बस्नेत र दिनेश डीसीलाई स्थान दिइएको छ ।
समीर राईको लगानीमा तयार भएको यस चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
चलचित्रमा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको बीजीएम छ ।
यो चलचित्रलाई नेपालभरका हलहरूमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जिम्मेवारी लिएका छन् ।


