बलिउडका यी चर्चित चार हस्ती नेपालमा, को किन आए ?

काठमाडौं । पछिल्लो केही दिनयता नेपालको संघीय राजधानी काठमाडौं बलिउडका चर्चित कलाकारहरूको रोजाइमा परेको छ । कला, साहित्य, सिनेमा र मनोरञ्जनका विभिन्न कार्यक्रममा सहभागी हुन बलिउडका चार हस्तीहरू यतिबेला काठमाडौंमा छन् ।

अभिनेता आयुष्मान खुरानादेखि दिग्गज कलाकार पीयूष मिश्रासम्मका कलाकारहरूको उपस्थितिले काठमाडौंको ग्ल्यामर क्षेत्रलाई तरंगित बनाएको छ ।

ठमेलको गल्लीमा आयुष्मान खुराना
बलिउडका भर्सटायल अभिनेता तथा गायक आयुष्मान खुराना यतिबेला काठमाडौं भ्रमणमा छन् । श्रीमती ताहिरा कश्यपसँग शनिबार नेपाल आइपुगेका उनी कुनै औपचारिक कार्यक्रमभन्दा पनि व्यक्तिगत भ्रमण र घुमघामका लागि यहाँ आएका हुन् ।

शनिबार राती उनलाई काठमाडौंको पर्यटकीय केन्द्र ठमेलस्थित एक प्रसिद्ध क्लबमा नेपाली सेलिब्रेटीहरूसँग रमाइलो गरिरहेको अवस्थामा देखिएको थियो ।

अभिनेता खुराना स्काइबारको दोस्रो वार्षिकोत्सवमा सहभागी हुन र चौधरी ग्रुप (सिजी)को एक सम्झौता हस्ताक्षर कार्यक्रमका लागि नेपाल आएको स्रोतको दाबी छ । उनी भारतका लागि सिजीको वाईवाई चाउचाउका ‘ब्रान्ड एम्बास्डर’ समेत हुन् । उनलाई सन् २०२३ मा सिजीले ‘ब्रान्ड एम्बास्डर’ नियुक्त गरेको थियो ।

आफ्ना मौलिक फिल्म र गायकीका कारण नेपालमा पनि अभिनेता खुरानाको ठूलो फ्यान फलोइङ रहेको छ ।

साहित्य महोत्सवमा सुनिए पीयूष मिश्रा

आफ्नो विशिष्ट अभिनय र क्रान्तिकारी गायकीका लागि चिनिएका पीयूष मिश्रा पनि यतिबेला काठमाडौंमै छन् । उनी ‘चौथो काठमाडौँ कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

शनिबार आयोजित महोत्सवमा उनले आफ्नो ब्यान्ड ‘बल्लीमारान’ सँग सांगीतिक प्रस्तुति दिनुका साथै दर्शकहरूसँग अन्तरक्रिया समेत गरेका थिए । काठमाडौंप्रति आफ्नो विशेष आत्मीयता रहेको बताउँदै मिश्राले यहाँको कला र साहित्य प्रेमी दर्शकसँग साक्षात्कार गर्न पाउँदा सधैं खुसी लाग्ने बताए । उनले नेपाल र भारतको सांस्कृतिक सम्बन्धका बारेमा समेत आफ्ना धारणा राखेका थिए ।

‘वर्ल्ड अफ डान्स’ को जज बनेर आए टेरेन्स लुइस

बलिउडका चर्चित नृत्य निर्देशक (कोरियोग्राफर) टेरेन्स लुइस पनि शनिबार नै काठमाडौं आइपुगेका हुन् । उनी नेपालमा सञ्चालन भइरहेको विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सेलिब्रेटी जज (निर्णायक) का रूपमा सहभागी हुन यहाँ आएका हुन् ।
विमानस्थलमा ओर्लिने बित्तिकै उनले नेपाली नृत्य प्रतिभाहरूको प्रशंसा गरेका थिए । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिताले नेपाली डान्सरहरूलाई ठूलो प्लेटफर्म दिने विश्वास गरिएको छ, जसमा टेरेन्सको उपस्थिति महत्वपूर्ण मानिएको छ ।

फिल्म प्रमोसनमा राकेश वेदी
बलिउडका वरिष्ठ तथा धुरन्धर अभिनेता राकेश वेदी पनि काठमाडौंको भ्रमणमा छन् । उनी आफ्नो आगामी फिल्म ‘है जवानी तो इश्क होना है’ को सम्बन्धमा नेपाल आएका हुन् ।

उनले आइतबार कमलपोखरीस्थित ‘बिग मुभिज’ मा नेपाली दर्शक र मिडियाकर्मीसँग विशेष अन्तरक्रिया गर्ने कार्यक्रम छ । दशकौंदेखि भारतीय सिनेमा र टेलिभिजनमा आफ्नो बलियो छाप छोडेका वेदीले नेपालमा फिल्मको बजार र यहाँका दर्शकको प्रतिक्रिया बुझ्न यो भ्रमण गरेका हुन् ।