कामपा र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ । महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने गौरव योजनासँग जोडिएको यस तालिममा फोटोग्राफीसँगै फोटो तथा भिडियो पत्रकारितासम्बन्धी आधारभूतदेखि व्यवहारिक ज्ञान प्रदान गरिनेछ ।

चलचित्र विकास बोर्डको क्षमता अभिवृद्धि वर्षअन्तर्गत सञ्चालन गरिएको तालिमले युवालाई सिर्जनशील सीपमार्फत स्वरोजगार, व्यावसायिक दक्षता र सञ्चार–चलचित्र क्षेत्रमा प्रवेशका अवसर बढाउने अपेक्षा गरिएको छ ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई क्यामेरा सञ्चालन, फोटो कम्पोजिसन, प्रकाश व्यवस्थापन, फोटो स्टोरी, भिडियो रिपोर्टिङ तथा व्यावहारिक पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ ।

तालिमको प्रारम्भिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, चलचित्र विकास बोर्डका सदस्यहरू, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा महानगरपालिकाका प्रतिनिधिले तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पारेका थिए । चलचित्र विकास बोर्डका तर्फबाट तालिमले नेपाली चलचित्र, सञ्चार र दृश्य–कला क्षेत्रमा पुर्याउने योगदानबारे चर्चा गरिएको थियो ।

तालिममा वरिष्ठ फोटोग्राफर प्रदीपराज वन्त, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल तथा वरिष्ठ पत्रकार एवं फोटोग्राफर श्रीधर पौडेललगायतले प्रशिक्षण दिनेछन् ।