‘लालीबजार’ले ८ करोड ७८ लाख माथि कमाउँदा, ‘रोल नं १’,‘मितज्यू’ र ‘काजी’को बक्सअफिस कलेक्सन कस्तो ?
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले आइतबारसम्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
प्रदर्शनरत चलचित्रको सार्वजनिक विवरणअनुसार चलचित्र ‘रोल नं १’ले आइतबारसम्म १० दिनमा ९४ लाख ९१ हजार ६ सय ८० कलेक्सन गरेको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन रहेको छ ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।
चलचित्र ‘कुम्भ’ले १० दिनमा ३ लाख ३२ हजार ४ सय १० कलेक्सन गरेको छ । यो चलचित्र आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । एक्सनलाई प्राथमिकता दिइएको यस चलचित्रमा रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सबैभन्दा धेरै ‘लालीबजार’ ले बक्सअफिसमा ८ करोड ७८ लाख ५ हजार १ सय ९८ कलेक्सन गरेको छ । वैशाख २५ देखि प्रदर्शनमा आएको यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ले बक्सअफिसमा लोभलाग्दो नतिजा निकालेको छ । स्वस्तिमा खड्का र रविन्द्र सिंह बानिया यो चलचित्रको मुख्य भूमिकामा छन् ।
वैशाख ११ देखि प्रदर्शनमा आएको लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ ले ४ करोड २८ लाख ११ हजार ४ सय ४५ कलेक्सन गरेको छ । सौगात मल्ल, सुहाना थापा, प्रकाश सपूत मुख्य भूमिकामा छन् ।
जेठको दोस्रो साताबाट प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार८ सय ५९ कलेक्सन गरेको छ । सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर यसको मुख्य भूमिकामा छन् । अनिल बुढा मगरले यसलाई निर्देशन गरेका छन् ।
विपिन कार्कीको मुख्य भूमिका रहेको र लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र ‘काजी’ले ४४ लाख ३८ हजार ९ सय ८५ कलेक्सन गरेको छ । विपिन र केकी अधिकारी यसको मुख्य भूमिकामा छन् ।
जेठ १ गते रिलिज भएको चलचित्र ‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ कलेक्सन गरेको छ । यसको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।



