अधिकांश नायक व्यस्त हुँदा दयाहाङ र विपिन बने फुर्सदिला

काठमाडौं । नेपाली सिनेमाका अधिकांश नायका व्यस्त हुँदा केही अभिनेता भने अहिले खाली छन् । त्यस्ता अभिनेता खाली छन्, जो वर्षौैंदेखि वर्षमा बाह्रै महिना सेटमा हुने गर्थे ।

अनमोल केसी अहिले ‘बाटुलो जून’को छायांकनमा छन् । यो चलचित्रको छायांकन पोखरामा भइरहेको छ ।

समीर भट्ट ‘१२ गाउँ २’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन ललितपुरको भैँसेपाटीमा सुटिङ भइरहेको छ । डेब्यु चलचित्रबाटै चर्चा कमाएका समीर यो सिक्वेलमार्फत आफ्नो क्रेज जोगाउने दाउमा छन् ।

प्रदीप खड्का पनि अहिले सेटमै छन् । उनी ‘ऐरी’को छायांकनका क्रममा चितवनमा छन् ।

अर्का अभिनेता पुष्प खड्का पनि यतिबेला फिचर फिल्ममा काम गरिरहेका छन् । उनी ‘महाराजधीराज’को छायांकनका क्रममा भक्तपुरमा छन् ।

पल शाह ‘आ बाट आमा २’ को छायांकनमा व्यस्त छन् । यो सिनेमाको छायांकन मकवानपुरमा भइरहेको छ ।

सौगात मल्ल पनि सिनेमाको छायांकनमै छन् । उनको चलचित्र ‘जुवा’को सुटिङ भइरहेको छ ।

खगेन्द्र लामिछाने चलचित्र ‘क्याप्टेन साहेब’को छायांकनमा छन् । यो चलचित्रको सुटिङ काभ्रेमा भइरहेको छ ।

विजय बराल चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनमा छन् । यद्यपि, छायांकनका क्रममा उनी घाइते भएपछि ब्रेक लिएर आराम गरिरहेका छन् ।

दीपकराज गिरी ‘छ माया छपक्कै २’को छायांकनमा छन् । मुकुन भुसाल पनि व्यस्त तालिकामा छन् । ‘लज्जावती’को गीतको छायांकन भइरहेको छ ।

नाजिर हुसेन ‘एभरेन्ट फिल्म एकेमेडीले बनाएको फिल्म ‘मुक्तिपुर’को छायांकनमा व्यस्त छन् ।

अहिले अधिकांश नायक व्यस्त हुँदा दयाहाङ राई भने खाली छन् । यद्यपि, उनको हातमा सिनेमा नरहेको भने होइन । छायांकनको टुंगो नलागेर मात्रै अहिले फ्लोरमा नगएको हो ।

यस्तै विपिन कार्की पनि अहिले सेटमा छैनन् । सिनेमा हातमा छन् । तर, कहिले छायांकनमा जाने हो भन्ने टुंगो छैन । यी दुई कलाकारका सिनेमा केही समयपछि छायांकनमा जाने तयारीमा छन् ।

विपिनको एउटा सिनेमा त, पत्रकार तथा लेखक विजय कुमारले लेखिरहेका छन् । यो सिनेका दसैँ अगाडि नै छायांकनमा जाने सम्भावना छ ।