अधिकांश दोहोरिँदा पल शाहका दुई हिरोइन किन अटाएनन् ? १४ करोडको सफलता दोहोरिएला ?
काठमाडौं । चलचित्र ‘आ बाट आमा २’को यतिबेला छायांकन भइरहेको छ । पल शाह मुख्य भूमिकामा रहेको यो सिनेमाको छायांकन मकवानपुरमा भइरहेको छ ।
गत वर्षका थोरै सफल सिनमा मध्यको एक यो सिनेमाले बक्सअफिसमा सबैलाई चकित पारेको थियो । पहिलो भाग सफल भएपछि अहिले यसको सिक्वेल बनिरहेको हो ।
यो चलचित्रमा धेरै कलाकार दोहोरिँदा पल शाहका दुई हिरोइन भने छैनन् । किन छुटे त हिरोइन् नै ?
पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेललगायत पहिलो भागका धेरै कलाकार सिक्वेलमा फर्किएका छन् । तर, पल शाहसँग जोडी बाँधेर देखिएमा दुई नायिका उषा उप्रेती र सिम्रन खड्का भने सिक्वेलमा कलाकार सूचीमा छैनन् ।
आखिर, अरु धेरै कलाकार फर्किंदा यी दुई किन दोहोरिएनन् ? निर्माण टिमले नयाँ अनुहार खोजेको हो कि अभिनेत्री आफैँले फिल्म नगरेका हुन् भन्ने जिज्ञासा यतिबेला धेरैमा छ ।
यसपटक मलिका महत मुख्य भूमिकामा भित्रिएकी छन् । रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित विष्ट र नरेन खड्कालगायत कलाकारको पनि अभिनय रहनेछ ।
तर, पहिलो भागमा पल शाहका हिरोइनका रूपमा देखिएका उषा उप्रेती र सिम्रन खड्का भने सिक्वेलमा अटाएका छैनन् । उषाले भने यसको कारण सार्वजनिक गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत सिक्वेलमा काम गर्ने आफ्नो ठूलो इच्छा रहेको बताएकी छन् । तर, त्यही समयमा पहिले नै तय भएका अन्य प्रोजेक्टसँग समय जुधेकाले आफूले समय व्यवस्थापन गर्न नसकेको र फिल्मको हिस्सा बन्न नपाएको उषाले उल्लेख गरेकी छन् ।
मलिका महतसहितका नयाँ कलाकारसँग पल शाहको केमेस्ट्री कस्तो देखिनेछ ? झन्डै १४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको पहिलो भागको सफलतालाई सिक्वेलले दोहोर्याउला ?
गत वर्ष बक्सअफिसमा झन्डै १४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेका कारण निर्माण टिम त्यही सफलता दोहोरिनेमा ढुक्क छ । आत्मविश्वास उच्च भएकै कारण ‘आ बाट आमा’ दशैंमा प्रदर्शनको तयारीमा छ ।


