कर्णाली सरकारले चलचित्रलाई एक करोड दिने सहमति भएको छ : ज्ञानेन्द्र शाही

काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ ।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती शाहीको विशेष आतिथ्यतामा काठमाडौंमा सम्पन्न एक विशेष कार्यक्रमका बीच परिमार्जित समय तालिका र विस्तृत नियमहरू सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनको लागि एक करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए ।

“हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष चलचित्रकै लागि भनेर १ करोड बजेट छुट्टाउने सहमति छ,” उनले भने, “म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु।”

कर्णाली क्षेत्रका अनगिन्ती र मौलिक कथाहरूलाई सिने पर्दामा उतार्न तथा स्थानीय लेखक, युवा र सर्जकहरूलाई चलचित्र लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले यो नवप्रवर्तनात्मक कार्यक्रम अघि सारिएको हो ।

प्रतियोगिता सार्वजनिक भए लगत्तै विशेष गरी कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाहरूबाट भौगोलिक विकटता, कार्यव्यस्तता र सिर्जनात्मक तयारीका लागि थप समय आवश्यक रहेको भन्दै अनुरोध आएपछि महोत्सव सचिवालयले आवेदन दिने अवधि थप गर्ने निर्णय गरेको हो ।

कोही पनि योग्य एवं प्रतिभावान सर्जक यो सुनौलो अवसरबाट नछुटुन् र कथाहरूमा परिपक्वता आओस् भन्ने हेतुले यो निर्णय लिइएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले प्रस्ट पारे ।

देश तथा विदेशमा रहेका सिर्जनशील लेखकहरूबाट आह्वान गरिएका कथाहरूमध्ये विशेषज्ञ निर्णायक मण्डलद्वारा पारदर्शी ढंगले उत्कृष्ट १५ कथाहरूको छनोट गरिनेछ । छनोट भएका ती कथाहरूलाई महोत्सवको फिल्म स्टोरी बैंकमा सुरक्षित राखिनुका साथै लेखकहरूलाई पटकथा लेखनसम्बन्धी विशेष तालिम प्रदान गरिने आयोजकले जनाएको छ । तीमध्ये सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गरिनेछ ।

स्वदेश तथा विदेशका चलचित्र निर्माता एवं निर्देशकहरूलाई आमन्त्रण गरी ती कथाहरूमा व्यावसायिक चलचित्र निर्माणका लागि मार्गप्रशस्त गरिनेछ भने चलचित्र निर्माण हुने निश्चित भएमा कथाकारलाई नामसहित उचित व्यावसायिक पारिश्रमिक र परामर्शसमेत प्रदान गरिनेछ ।

प्रतियोगितामा स्वदेश तथा विदेशमा बसोबास गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले भाग लिन सक्नेछन् । सहभागी हुन नेपाली नागरिकता वा परिचयपत्र आवश्यक पर्नेछ । कथा पूर्ण रूपमा मौलिक, अप्रकाशित र अनिवार्य रूपमा कर्णाली क्षेत्रको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित भई नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।