मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ यस वर्षको ‘राष्ट्रिय चलचित्र दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह’ मा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
नेपाली चलचित्र र रङ्गमञ्चको विकास र विस्तारमा साढे पाँच दशकभन्दा लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गर्दै श्रेष्ठलाई यो सम्मान दिइएको हो ।
सम्मानसँगै उनले ३ लाख ७५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । सो रकम परम्परागत ‘रातो थैली’ मा राखेर प्रदान गरिएको थियो ।
नेपाली हास्यव्यङ्ग्य र अभिनयका पर्याय मानिने श्रेष्ठले चलचित्र, टेलिचलचित्र, गायन र रङ्गमञ्चका माध्यमबाट नेपाली समाजलाई सुसूचित र मनोरञ्जन गराउँदै आएका छन् ।
विशेष गरी हरिवंश आचार्यसँगको ‘मह जोडी’ का रूपमा उनले पञ्चायतकालदेखि नै सामाजिक विकृति र राजनीतिक विसंगति विरुद्ध निर्भीक भएर कलात्मक प्रहार गर्दै आएका छन् ।
चलचित्र विकास बोर्डले हरेक वर्ष चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना वरिष्ठ कलाकारलाई यो ‘दीर्घ साधना सम्मान’ प्रदान गर्दै आएको छ ।
बोर्डले आयोजना गरेको उक्त समारोहमा चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरू, कलाकार र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
